दिल्ल्लीको विमानस्थलमा पनि सुन तस्करको बिगबिगी

२१ वैशाख, नयाँदिल्ली । प्रतिवर्ष ७ सय देखि ८ सय टन सुन खपत हुने भारतीय बजारमा सन् २०१७ मा मात्रै १२० टन सुन तस्करी भएको तथ्य फेला परेको छ ।

भारतको बजारमा कुल मागको १० प्रतिशतभन्दा धेरै सुन तस्करीको मार्गबाट आपूर्ति हुँदै आएको छ । यो वर्ष पनि सुन तस्करी अझै बढ्ने अनुमान गरिएको छ । इन्दिरा गान्धी विमानस्थलको सुरक्षा जाँच र निगरानीमा कडाइ गरिँदा समेत सुन तस्करी रोकिएको छैन ।

विमानस्थलमै आत्महत्या

गत बुधबार दिल्लीका एक सुन व्यापारीले डाइरेक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स कार्यालयको छैठौं तलाबाट हामफालेर आत्महत्या गरेका छन् ।

अवैध सुन तस्करीको आरोपमा वयानका लागि कार्यालयमा बोलाइएका गौरव गुप्ताले दिल्लीस्थित कार्यालयको छैठौं तल्लाबाट हाम फालेका हुन् ।

उनको घरमा गत सोमबार छापा मार्दा विदेशबाट अवैधरुपमा ल्याइएको ६ केजी सुन र २१३ किलो चाँदि फेलापरेको थियो ।
त्यस्तै मंगलबार थप छापा मार्दा उनको पसलको सेफबाट ३५ किलो सुन भेटिएको थियो ।

तस्करी बढेको बढ्यै

भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सन् २०१७ को जनवरी देखि अक्टोबर सम्म ११० केजी तस्करीको सुन बरामद भयो । यस अवधिमा ११४ मुद्दा दर्ता भए र ६२ जना पक्राउ परे ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१६ नोभेम्बर ८ मा पाँच सय र एक हजारको भारतीय नोटमा प्रतिवन्ध लगाउँदा सन् २०१६ मा सुन तस्करीमा उल्लेख्य कमी आएको हुन सक्ने अनुमान गरिएको थियो ।

तर, यस्तो अनुमानका बीच पनि दिल्ली विमानस्थलमा ७८ किलो तस्करीको सुन बरामद हुनुका साथै ७९ जना पक्राउ परेका थिए ।

यस्तै सन् २०१५-२०१६ को आर्थिक वर्षमा भने सबैगरी १३२ करोड भारतीय रुपैया बराबरको ४५० किलो तस्करीको सुन बरामद भएको थियो, जसमा ३५५ मुद्दा दर्ता भएका थिए ।

सन् २०१६-१७ को आर्थिक वर्षमा २६० किलो सुन दिल्ली एयरपोर्टका भन्सारका कर्मचारीहरुले बरामद गरेेका थिए । यसमा २४० केस दर्ता भएका थिए र १०० जना तस्करहरु समातिएका थिए ।

भारतमा सुन तस्करीमा एयरलाइन्सकै कर्मचारीको पनि मिलेमतो हुने गरेको पाइएको छ । सन् २०१७ को डिसेम्बर २१ मा गुहावटीबाट इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आउने क्रममा इन्डिगो एयरलाइन्सका सिनियर कर्मचारी श्रवनलाल शर्मा २.४८ किलो सुनसहित समातिएका थिए । उननाई डाइरेक्टोरेट अफ रेभेन्यु इन्टेलिजेन्स (डीआरआई) का कर्मचारीले समातेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *