यूएर्इमा उच्च अाय भएका नेपालीले नै पठाउँछन् हुण्डिबाट रकम

यूएर्इ । यूएईका न्यून आय भएका नेपालीहहरुले वैधानिक तरिकाले नेपाल पैसा पठाउने गरेपनि उच्च आय हुनेहरुले हुण्डीमार्फत नेपाल रकम पठाउने गरेको रेमिट्यान्स सरोकार समूहका प्रतिनिधिहरुले दाबी गरेका छन् ।

नेपाली राजदूतावास अबुधाबीले रेमिट्यान्स र यसको सदुपयोग विषयमा जेठ २१ गते नेपाली  राजदूतावास, अबुधाबीमा आयोजना गरेको छलफल कार्यक्रममा सहभागी नेपालका विभिन्न बैंकका प्रतिनिधि, रेमिट्यान्स सरोकार समूहका प्रतिनिधिले उक्त कुरा खुलाएका हुन ।

रेमिट्यान्स सरोकार समुह यूएईका प्रतिनिधि  सन्तोष प्रसार्इंले राम्रो तलब भएका नेपालीहरुले हुण्डीमार्फत पैसा पठाउने गरेको आरोप लगाएका छन् । प्रसाईंले वैधानिक तरिकाले पैसा नेपाल पठाउनेहरुलाई केही सेवा सुविधा दिने नीति अवलम्बन गरेको खण्डमा हुण्डी समाप्त हुने दाबी  गरेका छन् ।

उनले म्यानपावर व्यावसायिका कारण पनि हुण्डी मौलाएको भन्दै नेपाल सरकारले कामदार आफैले सरल ढंगले बिदेश पठाउने व्यवस्था गर्न सुझाव दिएका छन् ।

अल अहालिया एक्सचेञ्जका नेपाली बिजनेस प्रमुख बेनिमाधव ढकालका अनुसार सामान्य नेपाली  मजदूरहरुले  वैधानिक तरिकाले विभिन्न एक्सचेञ्जमार्फत नेपाल पैसा पठाउने गरे पनि जनचेतना फैलाउने र सदाचारको पाठ सिकाउने केही नेपालहरुले नै हुण्डी गर्ने गरेको दाबी गरेका छन् ।

ढकालले सबै सबै संघसंस्था र ब्यावसायीलाई वैधानिक तरिकाले पैसा पठाएर देशको अर्थतन्त्रमा सहयोग गर्न आग्रह पनि गरेका छन् ।

आईएमइ लिमिटेडका जीसीसी प्रमुख सरोज बस्नेतले हरेक साता आयोजना हुने सबै  नेपाली कार्यक्रममा नेपाली दूतावासको आह्वानमा वैधानिक तरिकाले रेमिट्यान्स गर्न सुझाव सहितको सन्देशमुलक सामग्री अनिवार्य प्रचारप्रसार गर्नुपर्ने सुझाव दिएका थिए ।

प्रवासी नेपाली मन्च यूएईका अध्यक्ष श्याम कंडेलले हुण्डी गर्नेहरुलाई कारबाहीका लागि सिफारिस गर्नुपर्नेमा जोड दिएका थिए । नेपाल सरकारले हुण्डी तथा सुन कारोबारी कडाइ  गरी अवैधानिक काम गर्ने र गराउनेहरुमाथि निगरानी राखी छुट्टै निकाय स्थापना गरि कारबाही गर्नपर्ने कँडेलले सुझाव दिएका छन् ।

यूएईमा रहेका नेपाली कामदारमध्ये धेरैले अवैध रुपमा हुण्डी गर्ने गरेको बैंक तथा सरोकारवाला निकायले जनाएका छन्।

नागरिकको प्रतिवद्धता र इमान्दारिताको अभावमा अञ्जानमा हुण्डी मौलाएको पत्रकार महासंघ यूएई शाखाका अध्यक्ष भुपराज बस्यालले बताए । अध्यक्ष बस्यालले पत्रकारको भेसमा कोहीले हुण्डी र भिसाको कारोबार गरेको पाइएमा तत्काल कारबाही  गरिने बताएका छन् ।

सहभागीहरुको  सुझावलाई सरकार समक्ष पु¥याउन राजदूतावासले  समन्वय गर्ने कार्यवहाक राजदूत सागरप्रसाद फुँयालले बताए ।

यस्तै, दूतावासकी द्वितीय सचिव विष्णु अधिकारीले प्रस्तुत गरेको रेमिट्यान्सले धानेको मुल अर्थतन्त्र र वैदेशिक रोजगारले निम्ताएका समस्याका बारेको कार्यपत्रमा  नेपालको कुल ग्राहस्थ उत्पादनको ३१ दशमलव ८ प्रतिशत रेमिट्यान्सले धानेको तथ्यांक  उल्लेख छ।

उक्त कार्यपत्र अनुसार  रेमिट्यान्सको ठूलो हिस्सा फजुल रुपमा खर्चिएको देखिन्छ। दूतावासका श्रम सहचारी मोतिराम भूसालले रेमिट्यान्सका सकारात्मक पक्ष र अवैधानिक तवरमा पैसा पठाउँदा हुन बेफाइदाका विषयमा कार्यपत्र प्रस्तुत गरे। उक्त कार्यपत्रमा अपराधिक गतिविधिलाई नियन्त्रण गर्न वैधानिक बाटोबाट रेमिट्यान्स पठाउनु पर्ने उल्लेख छ ।

छलफल कार्यक्रममा नेपालका विभिन्न बैंकका प्रतिनिधि, रेमिट्यान्स सरोकार समूह, राजनीतिक दलका भातृ संगठनका प्रमुख, ट्राभल्स व्यवसायी तथा संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो।

हुण्डी रोक्न आठ बुँदे ज्ञापनपत्र । हुण्डीले नेपाली आर्थिक सामाजिक तहसनहस पारेको भन्दै रेमिट्यान्स सरोकार समूह यूएईले नेपाल सरकारलाई दूतावासमार्फत आठ बुँदे ज्ञापनपत्र बुझाएको छ ।

वैधानिक रेमिट्यान्स गर्नेहरूको परिवारलाई  विभिन्न सेवासुबिधा दिनुपर्ने, छात्रवृत्ति दिनुपर्ने, परिवारका सदस्यलाई सिपमुलक तालिमको व्यवस्था गर्नुपर्ने, शिक्षा र स्वास्थ क्षेत्रमा राहत दिनुपर्ने लगायतका नीतिनियमहरु सरकारले घोषणा गर्नुपर्ने मागहरु रहेका छन् ।

त्यसैगरी रेमिट्यान्सलाई फजुल खर्चमा दुरुपयोग नगरी साना उद्योग तथा जलविद्युत जस्ता उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सरकारले कार्यक्रम ल्याउनुपर्ने पनि सुझाव दिइएको रेमिट्यान्स सरोकार समुहका प्रतिनिधि सन्तोष प्रसाईंले अनलाइनखबरलाई बताए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *