यसरी बेचियो जग्गाधनीले थाहै नपाई झण्डै ४ बिगाह जग्गा

काठमाडौं ।

राष्ट्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले नक्कली कागजपत्रका आधारमा जग्गाधनीलाई थाहैं नदिई जग्गा बिक्री गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ । चितवनका लोकेन्द्रराज पाठकको नाममा रहेको तीन बिगाह एक कठ्ठा पाँच धुर जग्गा नक्कली कागजात बनाई बेजिल्ला पास गरेका गरेका थिए ।

मालपोत कार्यलय डिल्लीबजार र चितवनका कर्मचारीको मिलोमतोमा नक्कली कागजात र नक्कली जग्गाधनी उपस्थित बनाई २०६६ सालमा मालपोत कार्यालय डिल्लीबजारबाट सो जग्गा बिक्री भएको अनुसन्धानबाट खुलेको छ । गिरोहले जग्गा धनी पाठकबाट १६ बर्ष पहिले लिएको नागरिकता तथा लालपुर्जाको फोटोकपिका आधारमा किर्ते कागजात बनाएर जग्गा बिक्री गरेका थिए ।

घटनाविवरण अनुसार गिरोहले उक्त जग्गा २०६६ माघमा काठमाडौंस्थित डिल्लीबजार मालपोतमार्फत बेजिल्ले कागजात बनाएर लोकेन्द्रराज पाठकको जग्गा जीवनराज पाठकलाई एक लाख रुपैयाँमा बिक्री गरेको थियोे । अनौठो त के छ भने, यसरी जग्गा किन्ने जीवनराज नाम गरेको मान्छेको अस्तित्व भने कागजमा मात्रै छ । राष्ट्रिय अनुसन्धान ब्युरोका अनुसार जीवनराज भन्ने मान्छे नै छैन भन्ने पत्तो लाग्यो ।

अस्तित्व नै नभएको मान्छेको नाम राखेर अर्को व्यक्ति उपस्थित भई किर्ते नाम र किर्ते कागजका आधारमा जग्गा बेचिएको थियो । नक्कली कागजातका आधारमा नक्कली मान्छेलाई जग्गा बेचिएको भएपनि सक्कली कागजात भने डिल्लीबजार मालपोतबाट गिरोहले प्राप्त गयो । नियमअनुसार बेजिल्ले पास गरिएको जग्गा उक्त जग्गा रहेको जिल्लास्थित मालपोत कार्यालयमा पठाउनका लागि सिलबन्दी गरेर हुलाकमाफर्त वा कर्मचारीकै हातबाट कागजात पठाउनुपथ्र्यो । तर किर्ते गर्ने गिरोह र मालपोत कर्मचारीको मिलोमोतोमा त्यो कागजात गिरोहकै सदस्यलाई दिएर पठाए । किर्ते गरि एक लाख रुपैयाँमा कारोबार भएको जग्गा को सक्कली कागजात नै गिरोहका हातमा परेपछि गिरोहले १ का अगाडी २ अंक थपेर २१ लाखमा बेचेको बनायो । ठुलो योजनासहित नक्कली काम थालेको गिरोहले जग्गा किनबेचको श्रृखलालाई अझै नाटकीय ढंगले अघि बढायो ।

आफैले तयार गरेको नक्कली कागजकै भरमा कर्मचारी गिरोहले मिलेर उक्त जग्गा अस्तित्वमा नै नभएको जीवनराज पाठकबाट २ महिनापछि मकवानपुरस्थित नेचुरल फ्लावर एण्ड हर्बल कम्पनीलाई ४९ लाख ५० हजार रुपैयाँमा बिक्री गरियो । आफुले किनेको जग्गा हर्बल कम्पनीले अन्य तीनवटा घरसहित धितो राखेर २०६९ साउनमा प्राइम बैंकबाट आठ करोड रुपैयाँ ऋण निकाल्यो । तर जग्गाधनीले भने त्यसपछिमात्रै आफ्नो जग्गा आफुले थाह नै नपाई बिक्री गरेको पत्तो पाए । आफुले थाहैं नपाई आफ्नो जग्गा अर्कैले किर्ते कागज गरि बेचेको थाह पाए । आफुले थाह पाएपछि पाठकले अहिले बदरका लागी चितवन जिल्ला अदालतमा मुद्दा दिएका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरोले किर्ते गरी जग्गा किनबेच गरेको आरोपमा मोरङ इटहराका देवेन्द्र थापा, झापा गौरिगन्जका नगेन्द्र कार्की, खोटाङ घर भई ललितपुर बस्ने मीनबहादुर भट्टराईलाई पक्राउ गरेको छ । संलग्न अन्यको अनुसन्धान गरि कारवाहीको दायरामा ल्याउने तयारी भईरहेको ब्युरोले जनाएको छ ।

गिरोहले किर्ते नागरिकता र लालपुर्जा बनाई ठगिको कारोबार गरेकाले उनीहरुलाई नागरिकता ऐन, किर्ते कागजात र ठगीको मुद्दामा कारवाही हुनेछ । नागरिकता ऐन २०२० का अनुसार किर्ते नागरिकतामा एक देखि पाँच बर्षसम्मको कैद वा २० देखि एक लाख सम्मको जरिवानाको व्यवस्था छ भने ठगीमा पाँच बर्षसम्मको कैद वा बिगो बराबरको जरिवाना हुने व्यवस्था उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *