सोझा लगानीकर्ता यसरी फस्छन् ‘बुल ट्रयाप’मा, यस्तो छ बच्ने उपाय

शेयरमा लगानीको मुख्य लोभ भनेको लाभांश र पुँजीगत लाभ नै हो । कारोबारी वा छोटो समयको लगानी गर्नेलाई पुँजीगत लाभको लोभ हुन्छ भने दीर्घकालीन लगानीकर्ताहरु भने लाभांशसँगै पुँजीगत लाभको लोभमा शेयर किन्दछन् । त्यो भनेको लगानीकर्ता र कारोबारीले लगानी वा कारोवार बापत खोजेको वा अपेक्षित प्रतिफल अर्थात मुनाफा नै हो ।

 

त्यसैले शेयर बजारका लगानीकर्ता वा कारोबारीलाई लाभांश र पुँजीगत लाभको लोभले डोहोर्याइरहन्छ र यसका लागि भविष्यको संभावित जोखिम उठाउन लगानीकर्ताहरु तयार हुन्छन् । त्यस भए जोखिम के हो त ? के जोखिम उठाउनेबित्तिकै मुनाफा सुनिश्चित नै हुन्छ ?

 

सामान्य शब्दमा जोखिम भनेको भविष्यको अनिश्चितता हो । शेयर बजारमा यस्तो अनिश्चितता निकै धेरै हुन्छ, जस्तोः
क) मूल्य घटबढको जोखिम,
ख) कम्पनीको व्यवस्थापन र व्यवसायिक जोखिम,
ग) देशको आर्थिक नीति, नियामकको नीति नियम र राजनीतिक जोखिम,
घ) राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक परिवेशले निम्त्याउने जोखिम,
ङ) शेयर क्रेता र बिक्रेताको निहित स्वार्थगत जोखिम ।

 

कम्पनी एउटा पक्षले व्यवस्थापन र संचालन गरेको हुन्छ, नियामकले त्यसको नियमन गर्दछ अनि सरकारले सो क्षेत्रका लागि समय समयमा नियमकानुन बनाउँछ भने राष्ट्रिय अन्तराष्ट्रिय कारण आर्थिक, राजनीतिक परिवेशमा परिवर्तन आउँछ । यस्ता परिवर्तनहरुको प्रभाव सकारात्मक वा नकारात्मक कस्तो हुन्छ भन्ने कुनै निश्चित हुँदैन । यी सबै कुराले अन्ततः उक्त कम्पनीको शेयर मूल्यमा प्रत्यक्ष अप्रत्यक्ष प्रभाव पार्दछ । यी सबै अनिश्चितताहरुको जोखिम भने लगानीकर्ता र कारोबारीले उठाउँछ ।

 

यस्तो जोखिम लिने क्षमता व्यक्तिपिच्छे फरक हुन्छ । लगानीकर्ताको जोखिम लिने क्षमता पैसाको स्रोत बचत वा ऋण, कुनै कम्पनीको सूचनामा पहुँच र सोसम्बन्धमा बुझाई, विश्लेषण र पूर्वानुमानमा निर्भर रहन्छ । यसैको आधारमा कुनै पनि कम्पनी सम्बन्धी आफ्नो धारण बनाउँछन् र शेयर किन्न र बेच्न अग्रसर हुन्छ । अर्थात् एउटा लगानीकर्ताले यो कम्पनीको भविष्यमा हुने आम्दानी समेतको आधारमा शेयरको मूल्य घट्छ भन्ने सोच्न थाल्छ भने अर्कोले त्यसको विपरीत कम्पनीको भविष्य अझ राम्रो हुने र शेयरको मूल्य पनि बढ्ने पूर्वानुमान गर्दछ । बेच्नेले शेयर बेचेर जोखिम घटाउन थाल्छ भने किन्नले जोखिम उठाउन थाल्छ ।

 

यहाँ किन्ने र बेच्ने दुवैले आफ्नो निर्णयलाई सही नै आँकलन गर्दछन्, तर त्यसको यथार्थमा के हो भन्ने सधंै अनिश्चित नै हुन्छ ।

 

हो, यस्तो अनिश्चितता वा जोखिम उठाउँदा कहिले नाफा हुन्छ भने कहिलेकाहीँ घाटा हुन्छ । लाभांशगत नाफा वा घाटा सम्बन्धित कम्पनीको व्यवसायिक कार्यसम्पादन र खुद मुनाफा(प्रति शेयर आम्दानी)मा निर्भर गर्दछ भने पुँजीगत लाभ बजारमा उक्त कम्पनीको शेयरको माग र आपूर्तिमा निर्भर रहन्छ ।

 

बुल र बुल ट्रयाप 
शेयर बजारको सन्दर्भमा बुल भनेको बजारको बढ्दो अवस्था हो र यस्तो अवस्थामा लगानीकर्ता र कारोवारीहरु निकै उत्साहित हुँदै भविष्यको सम्बन्धमा समेत सकारात्मक हुन्छन् । यो समयमा लगानीकर्ताहरुको मनोबल उच्च हुन्छ र भविष्यमा बजार थप उचाइमा पुग्ने र अहिले शेयर किनेर थप मुनाफामा बेच्न आतुर हुन्छन् । बजारमा केवल मुनाफाको मात्र अवसर देख्छन् । यस्तो समग्र बजार, बजारको कुनै उपसमूह वा कुनै कम्पनीको मात्र पनि हुनसक्छ ।

 

बुलको पनि शुरु, मध्यम र उत्कर्ष अवस्था हुन्छ । सामान्य विश्लेषणबाट यस्तो पहिचान गर्न निकै गाह्रो पनि हुन्छ भने बुल अवस्थामा बजारमा प्रवाह हुने र प्रवाहित गरिने वास्तविक तथा प्रायोजित सकारात्मक समाचार र मनोभावले गर्दा धेरैले केवल शेयरको मूल्य बढेको मात्र देख्छन् ।

 

तर, यस्तो अवस्था कति समय रहन्छ, त्यो पुनः अनिश्चित हो । परिवर्तन अवश्यम्भावी छ । लगानीकर्ताको मनोभाव, व्यवसायिक वातावरण, कम्पनीको व्यवस्थापन र मुनाफा, कानुनी र सामाजिक–आर्थिक वातावरणले गर्दा बुलको अवस्थामा कुनै पनि समय परिवर्तन हुनसक्छ । केही क्षण अगाडिसम्म निकै उच्च माग भएको शेयरको माग केही समयपछि नहुनसक्छ ।

 

बुल बजारको उत्कर्षमा पुगेर फर्किने अवस्था लगानीकर्ताहरुका लागि सबैभन्दा घातक हुन्छ । यसबेला बजार चरम अवस्थामा हुन्छ र कम्पनीका शेयरहरु विभिन्न कारणले माग र मूल्यको दृष्टिकोणबाट उचाईमा हुन्छन् । लगानीकर्ताहरुले अलिकति पनि होस् पुर्याउन नसक्दा निकै ठूलो नोक्सानी व्यहोर्नुपर्ने संभावना यस्तो बेलामा उच्च हुन्छ । यसरी शेयरको उच्च मूल्यमा खरिदका कारण सिर्जना हुने उच्च जोखिमको अवस्थालाई बुल ट्रयाप भन्न सकिन्छ । यस्तो अवस्थामा केही टाठाबाठा र संस्थागत लगानीकर्ताहरु भने बजारको बुल अवस्थाको उपयोग गर्दै मुनाफा संकलन गर्न पछि पर्दैनन् अर्थात् प्रोफिट बुक गर्न थाल्छन् । अर्कातिर आम लगानीकर्ताहरुलाई बजार थप बढ्ने लोभ र लालसाले निकै उच्च मूल्यमा शेयर किन्न प्रेरित गर्छ । अर्थात् बजारमा थापिएको उच्च मूल्यको पासोमा पर्छन् ।

 

निकै थोरै संस्थागत लगानीकर्ता, थोक बिक्रेता(मार्केट डिलर)को अभाव, बजार तथा सूचनामा सबै लगानीकर्ताहरुको पहुँचमा कठिनाई, लगानी तथा जोखिम सम्बन्धी अध्ययन, अभिमुखीकरण र तालिमको अभाव, बजारमा उपलब्ध बित्तीय उपकरणहरुको केवल शेयरमात्र हुनु आदि कारण हाम्रो जस्तो सानो शेयरबजारमा बुल ट्रयापको संभावना पनि बढी नै हुन्छ ।

 

बुल ट्रयापबाट बच्ने उपाय
पक्कै पनि लोभ र अनिश्चितता नहुने हो भने दोस्रो बजारमा अंकित मूल्यमा थप मूल्य तिरेर शेयर खरिद बिक्री हुँदैन थियो होला । अनि यस्तो लोभको सही तह के हो ? र कतिमा नियन्त्रण गर्ने ? सबैभन्दा जटिल प्रश्न यही हो । लोभलाई शूून्यमा झार्ने हो भने शेयर किनबेच मात्र होइन सामाजिक–आर्थिक वातावरणबाट समेत बाहिरिनुको विकल्प रहँदैन । तर, यही लोभको उचित व्यवस्थापन गर्दै जोखिम र मुनाफा बीच सन्तुलन कायम गर्न सकिएन भने लोभले लाप र लाभले विलाप अर्थात् बुल ट्रयापमा पर्ने संभावना उच्च हुन्छ ।

 

यसका लागि सबैभन्दा पहिले शेयरबजारमा जोखिम छ भन्ने आत्मस्वीकार गरी आफ्नो जोखिम वहन क्षमतालाई आंकलन गर्नु पर्दछ । त्यसपछि जोखिम वहनका लागि मानसिक–आर्थिक रुपमा तयार भई निश्चित सीमासहितको मापदण्ड तयार गर्नुपर्दछ । भनेको यति प्रतिशतसम्म नाफा वा घाटा व्यहोर्न यति समयसम्म कुर्न तयार हुन्छु र यस्तो अवस्थामा सिर्जना हुनसक्ने जोखिमलाई यसरी व्यवस्थापन गर्नेछु भन्ने अनौपचारिक नै भए पनि सोंच वा योजना बनाउनुपर्छ ।

 

यति भएपछि बजारमा निर्धारित सीमा वा अनुशासनभित्र रहेर मात्र कारोवार वा लगानी गर्नुस् नकि बजारको प्रवाहित सूचनाको आधारमा । यदि कारोवारी हो भने जोखिम बहनको तल्लो सीमा अर्थात् यति प्रतिशतसम्मको घाटा व्यहोर्छु भनेको सीमामा पुग्नैै लाग्दा नै त्यसलाई बिक्री गर्नुस । भोली महंगिन्छ भन्ने लोभ निकै घातक हुनसक्छ । यस्तै शेयरको मूूल्य बढिरहेको अवस्थामा समेत चाहेको मुनाफा आउने बित्तिकै तत्काल नयाँ जोखिम लिने स्तर तयार गर्नुस वा बिक्री गरिहाल्नुस् । प्राविधिक भाषामा यसलाई स्टपलस वा प्रोफिट बुक भनिन्छ ।

 

तर, दीर्घकालीन लगानीकर्ता हुनुहुन्छ भने आफूूले धैर्य गर्छु भनेको समयसम्म उक्त शेयरलाई बेच्ने निर्णय नगर्नुस् । बजारमा शेयर मूल्य निकै तल आउन थाले सस्तोमा शेयर किनेर उक्त कम्पनीको शेयरको औसत लागत घटाउनुस र निकै बढेको अवस्थामा धारण गरेको शेयरमध्ये निश्चित प्रतिशत वा हिस्सा बिक्री गरी मूूल्यमा केही सुधार(करेक्सन) आएपछि किन्ने गरी मुनाफा बुक(प्रोफिट बुक) गर्नुस् ।

 

सबै कुराको निश्कर्ष भनेको विशेष गरी बजार दु्रत गतिमा बढिरहेको र उच्च विन्दुमा पुगेको अवस्थामा विशेष सतर्कता र सचेतता अपनाएर आफ्नो लगानी वा कारोबार रणनीति र जोखिमवहन क्षमता अनुसार जोखिमको अल्पकालीन व्यवस्थापन गर्नुपर्दछ । बजारमा बेच्ने पक्षले विभिन्न सूचना प्रवाह गरेर शेयर किन्न प्रोत्साहित गर्छ वा पासो थाप्छ । त्यसैले बजारमा आमलगानीकर्ता वा कारोवारी सदैव सचेत र सजग हुनुपर्दछ । मुनाफाको अति लोभ वा बजारप्रतिको उत्साहले कहिलेकाहीँ उच्च मूल्यको पासो वा बुल ट्रयापमा पार्नसक्छ । यो विशेषगरी कारोवारीका लागि निकै घातक हो भने दीर्घकालीन लगानीकर्ताका लागि पनि दीर्घकालीन औसत लागतको थप भार हो । पक्कै पनि बजारमा सधैं आफूले सोचेको जस्तो हुँदैन र यो विभिन्न कारणले परिवर्तन हुन्छ, जसले नाफा र घाटाको अवस्था आउँछ ।

 

शेयर बजारको सबैभन्दा सशक्त सूत्र आफ्नो जोखिम क्षमता पहिचान गर्दै आधारभूत पक्षहरुको आधारमा कम्पनीको शेयरको माग र आपूर्तिको अवस्था पहिचान गरी जोखिमवहन क्षमताको आधार तयार मापदण्ड र अनुशासित भएर लगानी वा कारोवार गर्नु हो । यसले बुल ट्रयाप मात्र होइन बियरिस अवस्थामा समेत सघाउनेमा कुनै दुई मत नहोला ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *