घरजग्गामा कडार्इ गर्ने अर्थमन्त्री बनेपछि व्यवसायीको लगानी ‘डाइभर्ट’, उद्योगका लागि ऋण माग्दै

काठमाडौं।कित्ताकाटमा कडार्इ र बैंक ब्याज उच्च भएर कारोबार खुम्चिएपछि जग्गा व्यवसायीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्न सुरु गरेका छन्। व्यवसायीले प्लटिङ गर्न किनेको जग्गा धितो राखेर उत्पादनमूलक क्षेत्रमा लगानी गर्न थालेका हुन्।

बैंकरका अनुसार अहिले जग्गा व्यवसायीले बैंक तथा वित्तीय संस्थामा कर्जा माग गरेका छन्। जलविद्युत, कृषि, खाद्य उद्योग, कलेज, स्कुल, होटल लगायतका क्षेत्रमा लगानीका लागि बैंकसँग ऋण माग्न थालेका छन्।

‘अलिकति पैसा कमाएपछि उत्पादनमूलक क्षेत्रतिर लाग्नु स्वभाविक हो,’ सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्रचार्यले बिजमाण्डूसँग भने, ‘ यो क्षेत्रमा लगानी गर्नुपर्छ भनेर घरजग्गा व्यवसायीले चासो राख्न थालेका छन्। तर संघ, प्रदेश र स्थानीय तह सबै सरकारले कर मात्रै बढाउने नीति लिएका कारण अलिकति अन्यौलता भने सृजना भएजस्तो देखिन्छ।’

ठूलो उद्योगभन्दा मध्यमस्तरका व्यवसाय साचालनका लागि ऋणको कुराकानी गर्नेहरु बढेको उनीहरु बताउँछन्। केन्द्रीय बैंकले रियलस्टेट कर्जामा सीमा घटाउँदै लगेको छ। सरकारले कित्ताकाट रोकेको छ। ब्याज दर पनि तुलनात्मक रुपमा महँगो छ। यही कारणले रियलस्टेट कारोबार अन्य क्षेत्रमा लगानी गर्न आकर्षित भएका हुन्।

‘ठूलो कारोबार गर्नेहरु पहिले पनि रियलस्टेटबाट अन्य क्षेत्रमा सिफ्ट हुँदै गएका थिए’ लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले भने, ‘अहिले प्लटिङ ठप्प जस्तो छ। त्यही भएर व्यापारलाई विविधिकरण गर्नका लागि पनि अन्य क्षेत्रमा जान खोजेको हुनसक्छ।’  उनका अनुसार, कृषि, होटलजस्ता क्षेत्रमा चासो बढ्न थालेको छ।

नेपाल राष्ट्र बैंकको गभर्नर हुँदा डा. युवराज खतिवडाले घरजग्गा कारोबारमा धेरैनै कडाइ गरेका थिए।उनै खतिवडा अहिले अर्थमन्त्री छन्। कतिपय व्यवसायीहरु खतिवडाका कारण पनि व्यवसायलाई ‘डाइभर्सिफाइड’ गर्न खोजिरहेका छन्। ‘भोली कारोबार ठप्पको अवस्था आयो भने के गर्ने?’ एक बैंकरले भने, ‘उनीहरु रियलस्टेटबाट अन्यमा सिफ्ट हुनुको कारण गभर्नरबाट अर्थमन्त्रीमा बढुवा भएका खतिवडा पनि हो।’

घरजग्गामा मन्दी छाएका बेला जग्गा बिक्री गर्दा राम्रो मूल्य पाइने सम्भावना कम रहन्छ। बैंक ब्याज महँगो भएका कारण सिजलै जग्गा बिक्ने अवस्था पनि छैन। यही कारण वैकल्पिक बाटो रोज्दै जग्गा व्यवसायी उत्पादनमूलक क्षेत्रमा आकर्षित भएका हुनसक्ने बैंकरहरुको अनुमान छ।

‘मान्छेहरुले एउटा एक्टिभिटिजबाट कमाइरहेको छ भने त्यो बन्द हुँदा अर्को एक्टिभिटिजमा जान खोज्नु स्वभाविक हो,’ माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले बिजमाण्डूसँग भने, ‘त्यही कारण विस्तारै उत्पादनमूलकतिर जान खोजेको हुनसक्छ।’ उनका अनुसार, सरकारले उच्च आर्थिक वृद्धिको कुरा गरिरहेका बेला त्यसतर्फ व्यापार सिफ्ट गर्दा राम्रो लाभ लिन सक्ने अवस्था पनि रहन्छ।

बाणिज्य बैंकहरुसँगै विकास बैंक र फाइनान्स कम्पनीहरुसँग पनि ऋणको लागि कुराकानी गर्ने क्रम बढेको छ। ‘के व्यवसाय गर्ने भन्ने धेरैमा धारणा बनिसकेको छैन तर रियलस्टेटमा मात्रै बसेर हुँदैन भन्नेमा धेरै जना देखिन्छन्’ एक बैंकरले भने, ‘उनीहरुले दशै आसपासमा ऋण चलाउने गरी कुराकानी गरिरहेका छन्। धेरैको चाहना साना तथा मझौला ब्यवसाय, कृषि प्रशोधन उद्योगमा देखिन्छ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *