माछापालनमा एकल महिला आत्मनिर्भर

रूपन्देही — माछापालन सुरु गरेपछि सियारी गाउँपालिका ४ की ४५ वषर्ीया गोमा दाहालको परिचय फेरिएको छ । ०५७ सालमा श्रीमानको मृत्यु भएपछि ६ र ४ वर्षका छोरालाई हुर्काउन र पढाउन समस्या भयो । छिमेकी र साथीको सुझावमा गोमाले ५० हजार लगानीमा आठ कट्ठा जमिनमा पोखरी खनेर माछापालन सुरु गरिन् । अहिले उनी सफल किसानमा दरिएकी छन् ।

रहु, सिल्भर, नैनी, बिग्रेड, ग्रास, कमनलगायत माछा पालेकी छन् । बर्सेनि क्षेत्र विस्तार गरिरहेकी छन् । अहिले उनले डेढ बिघा जमिनमा फैलिएको पोखरीमा १५ हजार माछा पालेकी छन् । ‘पैसा आवश्यक पर्दा त्यही माछा बेच्छु,’ उनले भनिन्, ‘वाषिर्क खर्च कटाएर पाँच लाख रुपैयाँ बचाउँछु ।’ छोराहरूलाई निजी विद्यालयमा पठाइन् । अहिले ठूलो छोरा इन्जिनियर छन्, कान्छो अमेरिका छन् । दुःख बुझेर छोराले प्रगति गरेकामा उनी खुसी छन् ।
बिहान र साँझ दैनिक दुई घण्टा माछा पोखरीमा काम गर्छिन् । ढाड दुख्ने समस्याले एकजना दाना दिने कर्मचारी राखेकी छन् । माछाको काममा अन्य किसानले पनि आलोपालो सहयोग गर्छन् । भुरा माछा लिन भगलापुर, पण्डितपुर, ठुटीपीपलसम्म उनी साइकलमै पुग्छिन् ।
माछा किन्न भने भैरहवा, बुटवल, मर्चवार, बैदौली र स्थानीय बजारबाट व्यापारी गाउँमै आउँछन् । ‘हरेक तीन महिनामा माछा तयार हुन्छन्,’ उनले भनिन्, ‘सिल्भर र बिग्रेडलाई किलोको २ सय, अन्यलाई २ सय ५० देखि २ सय ८० रुपैयाँसम्म पर्छ ।’ सियारी ४ माछाको पकेट क्षेत्र नै भएकाले त्यहाँका धेरै किसान माछापालनमै लागेका छन् । शान्ति घिमिरे पनि सियारी ४ कै किसान हुन् । एक बिघा क्षेत्रफलमा ०६० सालबाट माछा पालिरहेकी छन् । छोरा अस्ट्रेलिया र छोरी काठमाडाैंमा पढदै छन् । सबै खर्चको व्यवस्थापन माछापालनबाटै हुन्छ ।
निरन्तरको कामले घुँडा दुख्ने समस्या भएपछि गत वर्षदेखि आम्दानी घटेको छ । ‘खुट्टा दुख्न थालेपछि पोखरीमा पस्न सक्दिनँ,’ उनले भनिन्, ‘दाना दिन र सफा गर्न भने पोखरीमा पस्नैपर्छ ।’ माछाबाटै उनको वाषिर्क आम्दानी चार लाख रुपैयाँ छ । उनी पनि एकल महिला हुन् । श्रीमान्को मृत्युपछि विद्यालयमा छोराछोरीलाई बाबाको कमाइ सोधेको कुरा अहिले पनि छोराले सम्भिmरहन्छन् । त्यही पीडा भुलाउन उनले माछापालन सुरु गरेको बताइन् ।
परिवारको आर्थिक अभाव टार्न सुरुमा बाख्रा र कुखुरापालन व्यवसाय पनि गरिन् । त्योभन्दा बढी आम्दानी माछाबाट हुने देखेपछि उनले जग्गा भाडामा लिएर माछा व्यवसाय सुरु गरिन् । उनले जग्गाको भाडा मात्र वाषिर्क ८० हजार तिर्छिन् । मत्स्य जोन कार्यक्रमका संयोजक रमेश जैसवालका अनुसार गोमा र शान्ति माछापालनमा रूपन्देहीकै अब्बल महिला हुन् । ‘दुःख गर्नु भएको छ,’उनले भने, ‘हिम्मत र आँटले दुवैजनालाई सफल पनि बनाएको छ ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *