प्रदेश १ मा माछा योजनाः बजार छ, उत्पादन छैन

विराटनगर । तीन दशक अघि नै व्यावसायिक माछा पालन सुरु भएको पूर्वाञ्चलको उत्पादनको बजार हिस्सा बढीमा ३० प्रतिशत पुगेको छ । अहिले प्रदेश १ बनेको यो क्षेत्रमा सिजनमा ७० प्रतिशत र अफसिजनमा ९० प्रतिशत भारतबाट आउने माछा खपत हुने गरेको छ । यो प्रदेशमा कोशी पश्चिमका सप्तरी र सिराहा जिल्लाबाट माछा आउने गरेको छ ।

विराटनगरका माछा व्यवसायी मालबावु सहनीका अनुसार, प्रदेश १ मा मेची र रानी भन्सार भएर भारतको पश्चिम बंगालबाट माछा आउँछ । भारतीयहरुले नेपाली उपभोक्ताको रुची अनुसार माछा पठाउने गरेका छन् ।

उनका अनुसार, पहिले बंगालबाट बढी कार्प जाता माछाहरु आउँथ्यो । ‘नेपाली उपभोक्ताले रहु, नैनी, भाकुर मन पराउने बुझेपछि भारतीयहरुले त्यही पठाउन थाले’, सहनीले भन्छन्, ‘अहिले नेपाली बजारमा ताजा माछाको माग बढेपछि उताका उत्पादक र व्यापारीले जिउँदै माछा पठाउने गरेका छन् ।’

प्रदेश १ का मोरङ, सुनसरी र झापामा व्यावसायीक माछा उत्पादन हुन्छ । प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका अनुसार यी जिल्लाका करिब १५ सय हेक्टर जमिनमा खनिएका पोखरीहरुबाट वार्षिक ८ हजार मेट्रिकटन माछा उत्पादन भइरहेको छ ।

मत्स्य विकास अधिकृत नेल्सन पोखरेल पछिल्लो समय व्यावसायीक माछा पालनका लागि नयाँ पोखरी खन्ने क्रम बढेको बताइन् । उनले भनिन्, ‘यो भनेको अब उत्पादन बढ्ने शंकेत हो ।’

सरकारी तथ्याङ्क अनुसार सबैभन्दा बढी मोरङमा ६ सय हेक्टरमा माछा खेती गरिन्छ । मोरंगमा वार्षिक २३ सय ८३ मेट्रिक कटन माछा उत्पादन हुने गरेछ । त्यस्तै, सुनसरीमा ३९६ हेक्टर जमिनको माछा पोखरीको वार्षिक उत्पादन ११ सय ६२ मेट छ भने झापामा वार्षिक ९०५ मेट माछा उत्पादन हुने गरेको छ । झापामा २८५ हेक्टर जमिनमा माछा पोखरी छ ।

मासिक १ करोडभन्दा बढीको आयात

विराटनगरको रानी र झापाको मेची भन्सार नाकाबाट आर्थिक बर्ष २०७४/०७५ मा १५ करोड ६१ लाख ७४ हजार ७९६ नेपाली रुपैयाको २९ लाख ८४ हजार २१८ किलो भारतीय माछा भित्रिएको तथ्यांक छ । त्यसमध्ये मेची नाकाबाट १५ करोड ४१ लाख ४५ हजार ४४९ रुपैयाको ९ लाख ५४ हजार ९७१ केजी माछा भित्रिएको थियो ।

चालु आवको मंसिरसम्ममा ८ करोड १६ लाख ९९० रुपैया वरावको ४ लाख ६५ हजार ९८९ केजी माछा भित्रिएको मेची भन्सार कार्यालयका सुचना अधिकृत मनोज विश्कर्माले बताए । रानी भन्सार कार्यालयका सुचना अधिकृत मनीराम पौडेलका अनुसार, यो आवको मंसिरसम्ममा त्यहाँबाट ६९ हजार २६९ रुपैयाको ४ लाख १९ हजार २६६ किलो माछा भित्रिएको छ ।

भारतबाट माछा ल्याउँदा भन्सार महशुल लाग्दैैन, नाम मात्रको कृषि सुधार शुल्क तिरे पुग्छ । मेची र रानी बाहेकका छोटी नाका भएरपनि भारतीय माछा नेपाली बजारमा भित्रिने गरेका छन् ।

व्यापारीहरुले मेची भन्सारबाट भित्र्याउने माछा झापा सहित इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका बजारहरुमा पुग्ने गरेको छ । रानी नाकाबाट भित्रिने माछा मोरङ र सुनसरीका हुदै धनकुटा, तेह्रथुम र भोजपुरसम्म पुग्ने गरेको छ ।

माछा जोन कार्यक्रमको अवस्था

मोरङ जिल्लालाई माछामा आत्मानिर्भर बनाउन २०७३ मंसिरबाट ‘माछा जोन कार्यक्रम’ संचालनमा छ । यो कार्यक्रमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको २३ करोड ५० लाख ७५ हजार रुपैयाँ खर्च भइसकेको छ । परियोजनाका प्रमुख नुनुलाल उराउ पाँच सय हेक्टर जमिनमा नँया पोखरी खनेर १० बर्षभित्र जिल्लालाई माछामा आत्मानिर्भर बनाउने बताउँछन् ।

परियोजनाले नँया पोखारी खन्न प्रतिकट्ठा १० हजार आर्थिक सहयोग गर्ने र कृषकहरुलाई माछा सम्बन्धी तालिम दिनेदेखि जिउँदो माछा पसल चलाउनेसम्मका कार्यक्रम चलाईरहेको छ । तर, विराटनगरमा खोलिएको जिउँदो माछा पसल सबै पसल बन्द भईसकेका छन् ।

परियोजना प्रमुख उराउका अनुसार, माछा जोन कार्यक्रमका लागि आव २०७३/०७४ मा १७ करोड ७३ लाख १०५ रुपैया बजेट निकासा भएको थियो । त्यसबाट ५४ हेक्टरमा पोखरी खनिएको छ ।

त्यसैगरी आव २०७४/०७५ मा विनियोजित २ करोड १४ लाख ११ हजार बजेटबाट १४५ हेक्टरमा नँया पोखरी निर्माण भएको उराउले बताए । चालु आवका लागि ३ करोड ६२ लाख ८६ हजार रुपैया बजेट निकासा भएको छ । परियोजना प्रमुख उराउ भन्छन्, ‘यो बर्ष ७० हेक्टरमा पोखरी थपिन्छ ।’

तर समस्या अर्कै छ

नेपाली माछा किसानहरुका अनुसार भारतको तुलनामा नेपालमा उत्पादन लागत नै बढी पर्छ । जसले गर्दा नेपालमा उत्पादित माछाको माग बढी भए पनि महंगो पर्न जाँदा बंगालबाट आउने माछाले बजारको ठुलो हिस्सा लिएको छ ।

मोरंगको तकिया कृषि फार्मका सञ्चालक गणेश उप्रेती नेपाली माछा किसान त अन्य खेतीतिर पलायन हुनुपर्ने अवस्था रहेको बताउँछन् । ‘भारतमा माछा कृषकलाई सरकारले भुरा र दानामा समेत अनुदान दिएको छ’, उनले भने, ‘नेपाल सरकारले पनि त्यसरी नै अनुदान नदिएसम्म देश माछामा आत्मानिर्भर बन्न सक्तैन ।’

उप्रेतीका अनुसार, नेपालमा माछा पालेर बजार ल्याई पुर्‍याउदासम्म प्रतिकेजी लागत २०० रुपैया पुगिसक्छ, तर भारतबाट ल्याइएका माछा प्रतिकेजी त्यही २ सय रुपैयामा बिक्री हुने गरेको छ । उप्रेति भन्छन्, ‘अनि नेपालीले कसरी माछा उत्पादन गर्नु र आत्मानिर्भर हुनु !’

नेपाली भन्सारमा अर्को गडबड हुने गरेको उनी बताउँछन् । ‘त्यहाँ व्यापारी र कर्मचारीको मिलोमतो छ’, उनी भन्छन्, ‘१ मेट्रिकटनको कृषि शुधार शुल्क तिरेर १० मेट्रिक टन ताजा माछा भित्र्याउने गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *