मझौला स्तरका किसानकालागि अत्ति आवश्यक सानो चिस्यान केन्द्र (कुल बट) नेपालमै उपलब्ध

यान्त्रीकरण र प्रविधिको विकासले अन्य झै कृषि क्षेत्रलाई पनि सहज, सरल, सस्तो र सुविधायुक्त बनाउदै लगेको पाइन्छ । यस्तो प्रविधिको विकास दैनिक रुपमा केही न केही भएकै पाइन्छ । त्यसै मध्येको एक हो सानो चिस्यान कोठा (कुल बट) । या अमेरिकीे प्रविधि नेपालमा समेत भित्रिएको छ । यसलाई आर एन्ड डी इनोभेटिभ सोलुशन, नयाँ बानेश्वरले नमूनाको रुपमा पहिलो पटक ५० पिस भित्र्याएको छ । र, केही स्थानमा जडानगरी नमूका रुपमा परिक्षण गरिरहेको आर एन्ड डीका निर्देशक सुनिता नेमाफुकीले हलोखबरलाई जानकारी दिइन् ।

‘एयर कन्डिशनको न्यूनतम विन्दु १६ हो । तर, कुल बटले एसीको १६ विन्दुलाई कन्भर्ट गरेर दुई डिग्रीसम्म झार्न मद्यत गर्छ’, यसको विशेषताबारे सुनिता भन्छिन्, ‘जसले गर्दा सामान्यतय मझौला स्तरका किसानले प्रयोग गर्ने फलफूल तथा तरकारी जन्य बस्तु सुरक्षित रहन सक्छ ।’ उनीहरुले परिक्षणकालागि आफ्नै स्टोरमा जडान समेत गरेका छन् । जसलाई प्रत्यक्ष गएर हेर्न र महसुस गर्न पनि सकिन्छ ।

२०५२ सालदेखि सरकारले ६८ वटा ठूला कोल्ड स्टोरहरुलाई विद्युत अनुदान दिदै आएको छ । वार्षिक १० करोडबढीको विद्युत अनुदान दिएपनि त्यस कोल्ड स्टोरमा आलुको मौषमभन्दा बाहेकको अवस्थामा खासै उपयोग गर्न सकिरहेका पाइदैन । नेमाफूकीका अनुसार कोल्ड स्टोर राख्दा थ्री फेज लाईन, ट्रान्समिटरदेखि दुनिया झन्झटमात्रै छैन्, महंगो पनि अत्याधिक हुन्छ । अझ न्यूनतम चार्ज छ हजार तिर्नै पर्छ । विज्ञान भन्छ, ‘टिपेको बाली आधा घण्टा भित्र चिस्यान केन्द्र पुर्याउन सक्यो भने उसको आत्म बाच्न सक्छ ।’ तर, ठूला चिस्यान केन्द्रमा पुर्याउन त्यती सजिलो छैन ।

तर, यस्ता मझौला स्तरका कृषि व्यापारी, रेष्टुरेन्ट, पार्टी प्यालेस सञ्चालन गर्नेहरुले कुल बट राख्ने हो भने उनीहरुको खर्चमा निक्कै घट्ने अनुभव सुनिताको छ । यसले विजुलीको भार पनि निक्कै घटाईदिन्छ ।
गाउँघरमा उत्पादन हुने कृषि सामाग्रीहरु धेरै नहुदा ढुवानी गर्नेहरु लिन जादैनन् । किसानसंग चिस्यान केन्द्रको सुविधा हुदैन । र, सडकमा फ्याल्नु बाहेक उनीहरुसंग केही विकल्प हुदैन । तर, गाउँमा सहकारीहरु मिलेर यस्ता कुलबट सहितको कुलिङ सिस्टम जडान गर्न सकेमा ढुवानीलाई आवश्यक पर्ने सामाग्री जम्मा पारिसकेपछि बोलाउन सकिने उनी वताउछिन् । १० वाई ८ को यो कुलिङमा एकदेखि पाँच टनसम्म राख्न सकिन्छ । २ डिग्रीसम्मको तापक्रममा झर्न सकिन्छ । विजुली खपत १२ घण्टामा ४ यूनिट मात्र उठ्छ । अटो कट, वाइफाई वा मोवाईलबाट घरैमा बसेर अटोमेटिक कन्ट्रोल गर्न सकिने फिचर्सहरु भएको सुनिता बताउँछिन् । किसानहरुले यसलाई लिन चाहेमा बैंकिङ सुविधादेखि लिएर अनुदान समेत पाइने जनाईएको छ ।

कुल बटको विकास कसरी सम्भव भयो ?
अमेरिकी नागरिकद्वय केट र रोन्खोस्ले सन् १९९९ मा न्यूयोर्कमा खेती सुरु गरेका थिए । उनीहरुको उत्पादनलाई सुरक्षित राख्न चिस्यान केन्द्रको आवश्यक पर्यो । बजारमा गएर सानो खालको कोल्ड स्टोर खरिद गर्न न्यूनतम ३५ सय डलर लाग्ने भयो, जुन उनीहरुको औकातभन्दा निक्कै माथि थियो । त्यसपछि उनीहरुले घरैमा भएको एयर कन्डिशनलाई कसरी कम गर्न सकिन्छ भनेर अनुसन्धानमा जुटेका थिए । अन्ततः २००७ मा पत्ता लगाएरै छाडे । उनीहरुको हुगेनट स्ट्रिट फार्ममा पहिलो पटक सफल परिक्षण पश्चात बजारीकरणतर्फ उन्मूख भएका थिए । अहिलेसम्म यो कुल बट संसारभर ५० हजारभन्दा बढी विक्री भएको उनीहरुको आधिकारिता वेबसाईटमा उल्लेख गरिएको छ । यसलाई अनुसन्धान र बजारीकरण गर्न विदेशी दातृ निकायले सहयोग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *