शेयर बजार घट्दा मात्रै दबाब समूह खोज्ने १० कित्तेदेखि भित्ते र करोडौ लगानी गर्नेलाई खुला चुनौति

माघ २७ गते आईतबार प्रायः सबै कम्पनीहरुको शेयर मूल्य उल्लेखनीय रुपमा घटेपछि लगानीकर्ताहरुमा फेरि आतंकको नयाँ सिलसिला शुरु भएको छ । त्यही साँझ केहीले सोधें, बजार यस्तो हुँदा नेता बन्न अघि सरेका कथित दबाब समूहका ब्यक्तिहरु कहाँ छन् ? कतिपय संचार माध्यमले नै लेखे, दबाब समूह किन सेलायो ? कतिपयले अघिल्लो आन्दोलनबाट पूँजी बजारमा सुधारका लागि महत्वपूर्ण भुमिका खेलेको दबाब समूहका सदस्यहरुको सम्पति छानविनमा सरकार तथा नियमनकारी निकायहरु जुटेकाले उनीहरु नै डराएर पछि हटेका हुन् भन्ने अनुमान पनि लगाएका छन् । अघिल्लोपल्ट पूँजी बजार सुधार र बिस्तारका १४ बुँदे माग राखेर आमरण अनशनसम्म बसेका शेयर लगानीकर्ता दबाब समूहका सदस्यहरु यसपल्ट भने ३२ बुँदे माग राखेर माघ १५ को अल्टिमेटम दिई आफै किन बेपत्ता भए भन्ने आरोप पनि लागेको छ । यस्ता आरोपहरुको जवाफ दिनतिर लाग्ने कि पूँजी बजार सुधार र बिस्तारको रणनीतिक अभियानमा लागिरहने भन्ने नैतिक प्रश्न दबाब समूहका सदस्यहरुमाथि आईपरेको छ ।

शेयर बजार केवल दबाब समूहको बपौति हो र सुधार तथा बिस्तारको जिम्मेवारी पनि उसको मात्रै हो भन्ने सोचाई पनि कसैले पालेका होलान् तर यो गलत हो । पूँजी बजार सुधार र बिस्तारका महाअभियानहरु चालु रहँदा आईपीओमा १० कित्ता शेयर पर्यो भन्दै हर्ष बढाई गरेर बस्नेदेखि नेप्सेको भित्ता मात्रै हेरी अंक गनेर बस्नेहरुको मात्रै पूँजी बजार हो भ्रम पनि कतिपयले पालेका हुनसक्छन् । पूँजी बजारमा एक हजार रुपैयाँ लगानी गरी १० कित्ता शेयर किन्दा त्यसको मुल्य घटेर ६६० रुपैयाँमा झर्नेहरु मात्रैको पूँजी बजार हो कि ६० करोड लगानी गर्दा २० करोड बराबरको मात्रै सम्पति बाँकी रहेकाहरुको पनि पूँजी बजार हो भन्ने भ्रम पनि छ ।

शेयर बजारलाई तलमाथि गर्ने, कुनै शेयरको मूल्य बढाउने र कुनैको घटाउने खेल मात्रै खेल्ने एउटा बर्गको मात्रै पूँजी बजार हो कि पूँजी बजारमा नीति नियम, पुर्वाधार, प्रबिधि र नियमन राम्रो भएमा बजारले आफ््नो गति आफै लिन्छ भन्ने बर्गको पूँजी बजार हो ? के बजार माग र आपर्तिको नियमले मात्रै चल्छ, केही सुधार वा बिस्तार गर्न खोज्नु शेयरको भाउ घटाउने र बढाउने खेल हो भन्नेको मात्रै यो ठाउँ हो ? के करोडौ लगानी गर्नेले मात्रै पूँजी बजारको चिन्ता गर्नुपर्र्छ र थोरै लगानी गर्नेले चाँही कुनै दायित्व र जिम्मेवारी बहन गर्नुपदैन भन्ने ठाउँ पूँजी बजार हो ?

पूँजी बजार ध्वस्त हुने आशंका बढ्दा के सरकारलाई हाईसन्चो होला भन्ने प्रश्न पनि जन्मिएको छ । के लगानीकर्ताले लगातार गुमाईरहँदा सरकारले फाईदा नै लिईरहेको छ र पूँजी बजारलाई सकेसम्म क्षति पुर्याउँदा अर्थमन्त्री डा. युवराज खतिवडा, उनका सहयोगीहरु, धितोपत्र बोर्ड, नेप्से, आन्तरिक राजश्व विभाग लगायतका सरकारी निकायहरुलाई असाध्यै फाईदा भएको छ पनि भन्न मिल्ला वा नमिल्ला तर पूँजी बजार घटेर धेरैतिर अत्याँसलाग्दो अबस्था सिर्जना भएको चाँही साँचो हो ।

भुकम्प आउँदा गगनचुम्बवी महलमा बस्नेदेखि झुपडी र सडकमा बस्नेसम्म सबै भागे जस्तै शेयर बजारको कम्पनले सबैलाई उत्तिकै असर पार्छ, चाहे १० कित्ते होस् वा करोडौ, अर्बौ लगानी गर्ने नै किन नहोस् । यसो हुँदा बजार सुधार र बिस्तारको काम सबैको काँधमा छ भनेर बुझ्नु नै राम्रो हुन्छ ।

अर्थतन्त्रका अरु क्षेत्रमा गंभीर समस्या आइसक्दा पूँजी बजार मात्रै राम्रो हुनुपर्छ भन्नुहुन्न । अर्थतन्त्र संकटतर्फ उन्मुख हुँदाको प्रभाव पूँजी बजारमा परेको छ । तर पनि पूँजी बजारमा प्रभाव कसरी कम गर्ने भन्ने कुरा महत्वपूर्ण छ । संस्थागत लगानीकर्ताको बाहुल्यता नहुँदा १० कित्ते लगानीकर्ताले मात्रै बजारलाई स्थायित्व प्रदान गर्न सक्दैनन् भन्ने देखिएको छ ।

हिजो पूँजी बजार सुधार र बिस्तारको १४ बुँदे मागे राखेर ११ दिनसम्म नेप्से अगाडि टुकुचाको दुर्गन्ध सहेर अनशन बस्नेहरुलाई नेता बन्न, शेयरको मूल्य बढाउँन, सरकारलाई असफल पार्न राप्रपा र काँग्रेसका कार्यकर्ताहरु अनशन बसे भनी आक्षेप लगाउँनेहरुलाई अहिले शेयर बजार घट्दा कति हाईसन्चो भएको छ भन्ने कुरा उनीहरुबाट अभिब्यक्त भएपछि मात्रै थाहा होला । शेयर बजारका बारेमा कुनै अध्ययन र त्रान नभएकाहरु समेत तथाकथित शेयर लगानीकर्ताको नेता र बिश्लेषक बनेर फेसबुक र अनलाईनहरुमा छाउनेहरुलाई कति मज्जा आएको होला वा नरमाईलो लागेको होला ? त्यो पनि लखिदै होला । अर्काले लेखिदिएको लेखलाई आफ्नो नाम राखेर शेयर बजारका बारेमा खुराक पस्कनेहरुलाई बिषयबस्तुको गंभीरता कति थाहा होला ? ११ दिनसम्मको अनशन, त्यसभन्दा अघि र पछिका कार्यक्रमहरुमा फिटिक्कै सहभागिता नजनाएका र बाहिर चाँही ठूलै गफ दिने तथाकथित लगानीकर्ताहरुलाई अहिले शेयर बजार घटेपछि दबाब समूह खोज्ने नैतिकता कहाँबाट आयो होला ? अघिल्लो साता सरकारले सबै काम गरिसक्यो अब पूँजी बजारमा प्रतिक्रिया दिने पालो लगानीकर्ताको भन्दै गफ दिने अर्थमन्त्री डा. युवराज खतिवडालाई आईतबारको प्रतिक्रियाले कस्तो जवाफ दियो होला भन्ने कुरा जान्नु पनि रोचक पक्ष नै हुनसक्ला ।

पूँजी बजार सबैको हो । यसमा १० कित्ते, भित्ते, सरकार, एक हजार लगानी गरेर आधा रकम गुमाउनेदेखि अर्बौ लगानी गरेर आफ्नो सम्पति खरानी पार्नेसम्म सबैको हिस्सेदारी छ र पूँजी बजार सुधारको जिम्मेवारी पनि सबैमा छ । दबाब समूहका केही सदस्य आमरण अनशनमा बसेर मृत्युबरणा गरी शहीद हुनुपर्ने, त्यसबाट प्राप्त उपलब्धिमा अरु रमाउँने र पूँजी बजारमा सुधार भयो भन्दै उफ्रिने हैन, सुधार र बिस्तारका अभियानहरुमा सबैको समान भागिदारी, जिम्मेवारी र जवाफदेहिता अति जरुरी छ । पूँजी बजारमा अहिले भएको केही रणनीतिक कामहरुको लाभ सबैले लिएकै छन् र भबिष्यमा हुने काम र परिणामहरुको पनि उत्तिकै फाईदा सबैलाई हुनेछ ।

दबाब समूहलाई मोहरा बनाएर अरुले बाहिर बसेर रमिता हेर्ने हो भने यहाँ मर्न कोही पनि तयार छैन । यो चुनौति १० कित्ते, भित्ते, दुई चार लाख लगाउँनेदेखि अर्बौ लगानी गर्ने सबैलाई हो । अझ पूँजी बजारबाट सबैभन्दा धेरै राजश्व र पूँजीगत लाभकर गुमाउँने सरकार र त्यसका नाईकेहरुलाई त झन् धेरै चुनौति हो । पूँजी बजार सुधार र बिस्तार अभियानको नेतृत्व गर्यो भन्दै उल्टै दबाब समूहका सदस्यहरुको सम्पति छानविनमा उत्रिने अर्थमन्त्रालयको आदेश पालक अर्थात धितोपत्र बोर्डका अध्यक्ष डा. रेबत बहादुर कार्की, नेप्सेका अधिकारी र कर्मचारीहरुले त झन् खुला चुनौतिको रुपमा लिनैपर्छ । अब तपाइँहरुको षडयन्त्र गर्ने पालो सकियो, कुनै छानविन र बहानाबाजी गरेर पूँजी बजार सुधार र बिस्तारको महाअभियान रोक्न सक्नु हुने छैन ।

सुधार र बिस्तार गरी यो देशको पूँजी बजारलाई लगानी आकर्षणको उत्तम थलो बनाएर लगानी ल्याउन सकिन्छ, बिगतको भ्याट, प्यान, कालो धन आतंक, कम्युनिष्टको भुत, युवराज खतिवडाको डंका पिटाई, घाटामा पनि कर तिर्नुपर्ने, अधिक आपुर्ति, अनलाईनको अन्योल, नियमनकारीको निकम्माका कारण भागेका लगानीकर्तालाई फर्काउँन सकिन्छ र पूँजी बजारमा सर्बसाधारणको सम्पति सुरक्षा हुने वातावरण निर्माण गर्नेपर्छ भनेर हामी लागेको हो । यसो गरेर हामीले गल्ति गरेको हो भने सरकार र नियमनकारी निकायहरुलाई हामी खुला चुनौति दिन चाहन्छौ, हामीलाई अपराधी करार गर र जेलमा लगेर कोच । हामीले कुनै गैरकानुनी सम्पति आर्जन गरेको भए कालो धनको कानुन लगाएर थुन, कुनै शेयर दलालको १४ करोड रुपैयाँ नतिरेको उजुरी भए उनीहरुलाई अदालतमा मुद्धा हाल्न लगाएर हामीलाई पक्राउ गरी कठघरामा उभ्याउँ । फेरि पनि भन्छौ, हामी पूँजी बजार सुधार र बिस्तारको महाअभियानबाट रत्तिभर पछि हट्ने वाला छैनौै । हो यो देशमा राम्रो गर्न खोज्नेहरुमाथि अनेक लान्छना लगाईन्छ र फसाउँने प्रयास हुुन्छ । राज्य लाग्यो भने ब्यक्तिको सबस्व हरण गर्नसक्छ तर हामी फेरि पनि भन्छौ, हामीले गुमाउँनुपर्ने केही छैन, जित्नका लागि सारा संसार छ । कुनै बिरोधी पार्टीको कार्यकर्ता भएर हैन, यही सत्ताधारी पार्टीकै प्रतिबद्ध सदस्य रहेको हैसियतले यहाँ यो खुला चुनौति दिईएको छ ।

गएको दुई महिनामा नेपालको पूँजी बजारमा धेरै राम्रा सुधारका कामहरु भएका छन्, धेरै कुरा नकारात्मक बनाई लगानीकर्तामा चरम निराशा उत्पन्न गराइृएकाले त्यसको प्रभाव पर्न सकेको छैन् । जे काम भएका छन् ती काम पनि पर्याप्त छैनन र गर्नु धेरै बाँकी नै छ । नियमनकारी निकायहरु फटाफट काम गर्नुको सट्टा बहानाबाजी गरेर बसेका छन् भन्ने पनि स्पष्टै देखिएको छ । शेयर बजार घट्दा मात्रै तात्ने र अरु बेला सेलाएर बस्ने छुट कसैलाई पनि छैन भन्ने कुरा पनि स्पष्ट गर्दछौ । तर एक्लैले गरेर साध्य छैन । १० कित्ते, भित्ते, हजार, लाख, करोडदेखि अर्बौ अर्ब पूँजी बजारमा लगानी गर्ने सबैले एकताबद्ध प्रयास गर्ने हो भने मात्रै परिवर्तन संभव छ ।

सबैभन्दा बढी त सरकार तात्नुपर्ने हो । तर यहाँ केपी ओली जस्ता नदेख्ने,, नसुन्ने खोपी भित्रको देउता जस्ता प्रधानमन्त्री, आफै जान्ने, सुन्ने बिज्ञ अर्थमन्त्री, घाटामा शेयर बेच्दा पनि लाभकर तिर्नुपर्छ भनेर नियम बनाउने अर्थमन्त्रालयका सहसचिव, शेयर बजारमा किन्नेलाई प्यान लगाईदिएपछि माग आफै कम भएर जान्छ र पूँजीबजालाई रसातलमा पुर्याउँन सकिन्छ भन्ने सोच राख्ने सल्लाहकारहरु, फटाफट काम गर्नुको सट्टा लगानीकर्ताको सम्पति छानविन गर्न आफै अघि सर्ने धितोपत्र बोर्डका अध्यक्ष, काम नलाग्ने कथित अनलाईन ल्याएर लगानीकर्ताको सम्पति स्वाहा पार्न उद्यत नेप्सका अधिकारी भएको देशमा चानचुने प्रयासले परिवर्तन संभव छैन । यो यथार्थबोध सबैले गर्नुपर्छ ।

नेप्सेको भित्ता हेरेर आँत्तिने र मातिने, फलानो कम्पनीको १० कित्ता शेयर पर्यो भनेर औधी उत्साहित हुने र परेन भने हदैै निराश हुने अर्थात भित्ते र १० कित्ते लगानीकर्ताहरुलाई मात्रै हैन, पूँजी बजारमा अर्बौ अर्ब लगानी गर्नेलाई पनि फेरि भन्छौ, दोस्रो बजारमा लाभांश दिने कम्पनीकै मूल्य आईपीओको भाउमा आईसक्यो, धेरै उत्साहित र निराश हैन, गँभीर बन्नुहोस् । पूँजी बजारले अरु क्षति ब्यहोर्नु भनेको धेरै जोगी बन्नु हो । हामी कसैलाई जोगी बनाउँन हैन, सबैलाई सम्पन्न बनाउने महान अभियानमा लाग्नैपर्छ । फेसबुकको भित्तामा अरुको आलोचना गरेर बस्ने हैन, एकताबद्ध प्रयास गर्ने बेला यही हो । आउँ, फेरि जुटौ र केही रणनीतिक कामहरु तत्काल गरौं ।

Courtesy :  sharelagani

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *