सेयर कारोबारमा प्यान : ५ लाख भन्दा बढीको कारोबार गर्नेलाई अनिवार्य, अन्यलाई ऐच्छिक

काठमाडौं : नेपाल धितोपत्र बोर्डले एक पटकमा ५ लाख रुपयाँ वा बढीको सेयर कारोबार गर्नेलाई मात्र स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गर्ने भएको छ । लगानीकर्ता र अन्य सरोकारवालासँग छलफल गरी आगामी वैशाख १ गतेदेखि ५ लाख वा त्यस भन्दा बढीको सेयर कारोबार गर्ने लगानीकर्तालाई मात्र प्यान अनिवार्य गर्ने निर्णय गरिएको बोर्डले जनाएको छ ।
यता, ५ लाख रुपैयाँ भन्दा कम लगानी गर्ने साना लगानीकर्तालाई भने प्यान ऐच्छिक रहेको बोर्डको भनाई छ । साना लगानीकर्तालाई प्रोत्साहन गर्न अहिलेलाई ऐच्छिक गरिएको बोर्डले विज्ञप्तिमा उल्लेख गरेको छ ।

बोर्डको यो निर्णयबाट साना लगानीकर्तालाई तत्काल प्यानको झन्झट नहुने देखिएको छ । एकैपटक ५ लाख भन्दा कम कारोबार गर्नेले प्यान नम्बर उल्लेख गर्न अनिवार्य हुनेछैन् । यसैगरी धेरै परिमाणमा सेयर कारोबार गर्नेले पनि ५ लाख रुपैयाँभन्दा कमका दरले सेयर खरिद गरेमा प्यान अनिवार्य हुँदैन ।

धितोपत्र बोर्डको यो निर्णयबाट प्यानका बारेमा उत्पन्न विवाद तथा अन्योलता तत्कालका लागि साम्य भएको छ । यसअघि आम लगानीकर्ताले प्यानका बारेमा स्पष्ट पार्न माग गर्दै आएका थिए । साथै, उनीहरुले व्यापक प्रचारप्रसार तथा जनचेतना अभिवृद्धिका कार्यक्रम गरेर मात्र प्यान कार्यान्वयन गर्न पनि माग गरेका थिए ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *