उद्योगलाई दिईएको सबै कर छुटको सुविधा खारेज, अर्थ सचिवले भने, ‘छुट दिइएको कर दुरुपयोग भयो

काठमाडौं । सरकारले कुनै पनि उद्योगलाई कर छुटको सुविधा नदिने भएको छ । लामो समयसम्म कर छुट दिँदा करको दुरुपयोग हुने भन्दै अबका दिनमा यस अघि उद्योगलाई दिईएको कर छुटको सुविधा हटाईने अर्थ सचिव डा. राजन खनालले बताए । ‘अहिले सरकारले केही खास प्रकृतिका उद्योग व्यवसायलाई कर छुट दिएको छ,’ उनले भने, ‘आगामी दिनमा क्रमश ती सबै कर छुटहरु हटाईने छ ।’ सरकारले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न मूल्य अभिवृद्धि कर (भ्याट) तथा अन्य खालका कर छुट दिँदै आएको छ । सरकारले चालू आर्थिक बर्षको बजेट वक्तव्यमार्फत भ्याट छुटलाई हटाएपनि अन्य खालका कर छुटलाई भने यथावत राखेको थियो । तर, आगामी दिनमा त्यस्ता खालका कर छुटका सुविधा पनि हटाउन लागिएको अर्थ सचिव खनालले जानकारी दिए । अहिले कतिपय उद्योगहरु सरकारले दिएको कर छुटका कारण मात्र चलेको जानकारी दिँदै सधैभरी सरकारले कर छुट दिएर उद्योग चलाउन नसक्ने समेत उनको तर्क थियो । ‘सधैभरी कर छुटबाट मात्र उद्योग चलाउने भए निजी क्षेत्र किन चाहियो सरकारले नै उद्योग कलकारखाना चलाए हुन्छ,’ उनले भने, ‘कुनै पनि उद्योगलाई सरकारले सिमिति अबधिका लागि छुट सुविधा दिने हो त्यसपछि आफै सक्षम भएर अघि बढ्न सक्नुपर्छ ।’ साथै सरकारले सधैभरी उद्योगलाई कर छुट हुँदा दुरुपयोग हुने क्रम उच्च रहेको समेत उनको तर्क थियो । सरकारले बजेटमार्फत कपडा उद्योगमा दिएको भ्याट छुट हटाएकै कारण कपडा उद्योगीहरु शनिबारदेखि आन्दोलनमा उत्रिएका छन् । सरकारले भ्याट छुट सुविधा हटाउँदा उद्योग संचालन गर्न नसकिने भन्दै देशभरका करिब १ सय ५० उद्योग बन्द गर्दै कपडा उद्योगीहरु आन्दोनलमा उत्रिएका छन् । साथै अन्य उद्योगले पनि बजेटमार्फत हटाएको भ्याट छुटको सुविधालाई पुनः दिन माग गर्दै आएका छन् । सरकारले कुनै पनि उद्योगलाई दिँदै आएको भ्याट तथा अन्य कर सुविधा एकै पटक हटाउन नहुने नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले जानकारी दिए । ‘सरकारले उद्योगीलाई दिएको कर तथा भ्याट सुविधा हटाउँदा दुबै पक्ष छलफल गरेर मात्र कसरी व्यवस्था गर्ने भन्ने निष्कर्ष निकाल्नुपर्छ,’ उनले भने, ‘तर, पछिल्लो समय मन्त्री तथा सचिवले आफुलाई मनमा लागेको कुरा नीतिगत रुपमा लागू गर्दा उद्योगी व्यवस्यी समस्यामा परेको छन् ।’ हाल विदेशी बस्तु प्रतिस्थापन गरी स्वदेशी उत्पादन बढाउने खालका उद्योगले भ्याट तथा कर छुटको सुविधा पाईरहेको हुँदा आगामी दिनमा पनि सरकारले त्यस्ता उद्योगको संरक्षण गर्नुपर्ने बताए । ‘सरकारले बजेटमार्फत भ्याट छुटको सुविधा हटायो अब अन्य कर छुटका सुविधा पनि खारेज गर्छु भन्न थालेका छन्,’ उनले भने, ‘यदि सरकारले उद्योगलाई दिएको कर छुटका सुविधा आफुखुशी हटाउँदै जाने हो भने आगामी दिनमा धेरै उद्योगहरु धराषयी हुनेछन् ।’ विशेषगरी सरकारले विलासिताका बस्तुमा कर बढाएर अत्यावश्यक उत्पादनमा अझ बढी कर छुट दिनुपर्ने मल्लको भनाई थियो । नेपाली उद्योगीहरुले आयात प्रस्थिापन गर्दै विदेशी बस्तुसँग प्रतिस्पर्धा गरिरहेको जानकारी दिँदै त्यस्ता उद्योगलाई सरकारले सदैब प्रोत्साहन दिनुपर्ने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *