म्युचुअल फन्डहरुले बैंकमा पैसा थुपारेर बसेपछि कसरी बढ्छ सेयर बजार ?

काठमाडौं : सेयर घटेका बेला लगानी गरेर सेयर बजार सुधार्न भूमिका निर्वाह गर्नुपर्ने म्युचुलअ फन्डहरु भने बजार जता गयो त्यतै पछिपछि लाग्ने गरेका छन् । बजार बढ्दा लगानी गर्ने अनि घट्दा बाहिर निष्किने गर्दा म्युचुअल फन्डहरुको भूमिकामै प्रश्न चिन्ह लाग्ने अवस्था उत्पन्न भएको लगानीकर्ताहरुले बताउँदै आएका छन् । म्युचुअल फन्डहरुले सेयर बजारमा स्थिरता कायम गरी यसको दिगो विकास गर्न समेत असफल भएको देखिन्छ ।

म्युचुअल फन्डको लगानी लगायतका विषयमा नियामक नेपाल धितोपत्र बोर्डको भूमिका पनि कमजोर देखिएको छ । नियम अनुसार सेयर बजारमा लगानी गरेका छन कि छैनन् भनेर बोर्डले प्रभावकारी नियमन गर्न सकेको छैन । म्युचुअल फन्डलाई आरक्षण दिनुको उद्देश्य नियामकले समेत प्रष्ट पार्नुपर्ने अवस्था आइसकेको छ । नियमन निकायको कमजोरीपनको फाइदा फन्डहरुले उठाउँदा यसको प्रत्यक्ष मारमा भने सोझासाझा लगानीकर्ता पर्दै आएका छन् ।

पछिल्लो तथ्यांक अनुसार अधिकांश म्युचुअल फन्डहरुले सेयर लगानी घटाएका छन् भने बैंक मौज्यात बढाएका छन् । पछिल्लो समय नयाँ नयाँ म्युचुअल फन्ड योजनाहरु थपिने क्रम बढेको छ । १३ वटा म्युचुअल फन्डमध्ये ८ वटाले बैंक मौज्यात बढाएका छन् । सरकारले पुँजी बजारको विकास गर्न भनेरै म्युचुलअ फन्डहरुलाई कर छुट दिएको छ ।

आइपीओ तथा एफपीओमा समेत उनीहरुले आरक्षण पाउने गरेका छन् । तर त्यस अनुसार उनीहरुले पुँजी बजारको विकासमा योगदान पुर्याउन सकेको देखिंदैन । यता, पछिल्लो समयमा घट्दो बजारको असर म्युचुअल फन्डहरुमा पनि देखिएको छ । वैशाख महिनाको तुलनामा जेठमा अधिकांश म्युचुअल फन्डहरुको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) घटेको छ ।

८ कम्पनीको बैंक मौज्दात बढ्यो

जेठ मसान्तसम्म आइपुग्दा ८ फन्डले बैंक मौज्दात बढाएका छन् । बाँकी ५ कम्पनीको बैंक मौज्दात घटाएका छन् । यस अवधिमा सबैभन्दा धेरै बैंक मौज्दात हुने फन्डमा सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम रहेको छ । यसको बैंक मौज्दात ९२ करोड ६४ लाख २२ हजार ४६३ रुपैयाँ रहेको छ ।
३ फन्डले मात्र सूचीकृत सेयरमा लगानी बढाए
जेठ मसान्तसम्मा ३ म्युचुअल फन्डले सूचीकृत सेयरमा लगानी बढाएका छन् । बाँकी १० फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी घटेको छ । सूचीकृत सेयरमा लगानी बढाउने कम्पनीमा लक्ष्मी इक्विटी फन्ड, सानिमा इक्विटी फन्ड र सिद्धार्थ इक्विटी फन्ड रहेका छन् ।

यस अवधिमा सबैभन्दा धेरै सूचीकृत सेयरमा लगानी गर्ने फन्डमा सिद्धार्थ इक्विटी रहेको छ । यसले ८७ करोड ६० लाख ४२ हजार ८६० रुपैयाँ सूचीकृत सेयरमा लगानी गरेको छ ।

१२ फन्डको प्रतिइकाई खुद सम्पति मूल्य घट्यो
चालु आर्थिक वर्षको जेठ मसान्तसम्म आइपुग्दा १३ मध्ये १२ म्युचुअल फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य घटेको छ ।

यस अवधिमा प्रतिइकाई खुद सम्पति मूल्य बढाउनेमा सिद्धार्थ इक्विटी ओरियन्टेड स्कीम मात्र रहेको छ । यसको प्रतिइकाई खुद सम्पति मूल्य वैशाख महिनाको तुलनामा ७ पैसाले बढेर ११ रुपैयाँ २३ पैसा पुगेको हो । अन्य सबै म्युचुअल फन्डको न्याभमा गिरावट आएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *