ऋण उठ्न छाडेपछि बैंकहरुको लिलामीका सूचना बढ्न थाले, पुसपछि अझै बढ्ने अनुमान

काठमाडौं। दुई बर्षयता आक्रामक लगानी गरेका बैंकहरु ऋण उठ्न छाडेपछि लिलामीको सुचना प्रकाशित गर्न पनि आक्रमक देखिएका छन्। केही समययता दैनिक दुई दर्जन हाराहारी ऋण लिलामी गर्ने सूचना प्रकाशित हुन थालेको छ।

अधिकांस सूचना मोफसलका साना उद्योग, सवारी साधन, एक्जाभेटर र घरजग्गासँग सम्बन्धित छन्। चुक्ता पूँजी बृद्धिपछि बैंकहरुले आक्रामक ऋण बिस्तार गरेका छन्। पूँजीबाट प्राप्त हुने प्रतिफल विगतकोभन्दा नघटाउन बैंकहरुले अन्धधुन्द ऋण बिस्तार गरेर वासलातको आधार बढाएका छन्।

अहिले ती ऋणहरुमध्ये कतिपय उठ्न छाडेको छ। ऋणको साँवा र ब्याज उठ्न छाडेपछि बैंकहरुले लिलाम गरेर पैसा उठाउन प्रकृया थालेका हुन्। यसो हुँदा कालोसूचीमा पर्ने ऋणको संख्या पनि विगतको तुलनामा बृद्धि हुन थालेको छ।

पछिल्लो समय कित्ताकाट रोकिएका कारण घरजग्गा कारोबारमा पनि मन्दी छाएको छ। खुद्राखुद्री वाहेक घरजग्गाको किनबेच घटेको छ। शेयर बजार पनि ओरालो लागेको छ। बैंक ब्याज दर महँगो छ भने ऋण पनि सहजै पाउने अवस्था छैन। समग्रमा ‘क्यासफ्लो’ रोकिएपछि बैंकहरुको ऋण उठ्न पनि कम भएको छ।

‘अहिले त फाट्टफूट्ट मात्र सूचना आइरहेको छ। पुस मसान्त सकिएपछि झन् धेरै लिलामीका सूचना आउने देखिन्छ’ एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने, ‘ऋण लिएको समयभन्दा अहिले ब्याज दर दोब्बर छ। यसले गर्द ऋण तिर्ने क्षमता पनि घटेको छ। त्यसैले लिलामीको सूचना बढ्ने देखिन्छ।’

बैंकहरुले सात दिनेदेखि ३५ दिने सूचनासम्म प्रकाशित गर्न थालेका छन्। धितो लिलाम गर्नका लागि सूचना प्रकाशित गर्नु पर्ने कानुनी प्रावधान छ। १० लाखमाथिको ऋण नतिर्नेलाई बैंकले कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई सिफारिस गर्नु पर्छ।

अधिकांस ऋणीको धितो घरजग्गा नै रहेको सूचनाहरुमा देखिन्छ। पत्रपत्रिकामा छापिएका सूचनाहरु अध्ययन गर्दा भर्खरै खरीद गरिएका गाडीहरु पनि लिलामीमा चढ्न थालेका छन्। ‘विगतमा गाडी कर्जा ६/साढे ६ प्रतिशत ब्याजमा पाइन्थ्यो’ ती बैंकरले भने, ‘अहिले त्यसको ब्याज १३/१४ प्रतिशत पुगेको छ। धान्न नसकेपछि उसले तिर्दैन। अनि बैंकले पनि वाध्य भएर लिलामी गर्नु पर्छ।’

बैंकहरुले ऋण नउठेपछि सम्पति बेचेर उठाउन खोजेपनि खरीद गर्ने पनि भेटिन छाडेका छन्। भोली विवाद हुन सक्छ भनेर यसैपनि लिलामीको सम्पति किन्न कमै इच्छुक हुन्छन्। त्यसमाथि अहिले सम्पति सकार्नेसँग पनि ‘क्यासफ्लो’ कम छ।

‘अब बैंकहरुको खराव ऋण केही बढ्न सक्छ’ एक पूर्ब बैंकरले भने, ‘तरलता पर्याप्त भएका बेला धितो सकार्नेहरु पनि भेटिन्थे। पुरानै ऋणीलाई पनि केही पैसा थप गरिदिएर ब्याज तिर्ने वातावरण बनाइँन्थ्यो। तरलता अभावका कारण अब अवस्था त्यस्तो छैन।’

उनका अनुसार, बैंकहरुले ‘जेन्युनली’ साँवाब्याज नउठेको ऋणको नोक्शानी ब्यवस्थापन गर्ने हो भने खराव ऋणको स्तर निक्कै माथि आउने छ। ‘तर, बिग्रिएका ऋणलाई पनि सेटल गर्ने प्रबृत्ति अझै छ’ ती बैंकरले भने, ‘अन्तिम अवस्था नभइ बैंकले खराव ऋण बुक नै गर्दैनन्।’ उनका अनुसार, बैंकहरुले नउठेको ऋणको नोक्शानी ब्यवस्थापन गरेर स्वस्थ अभ्यास गर्नु पर्छ।

‘भविश्यमा अचानक ह्वात्तै खराव कर्जा देखाउनु भन्दा अहिलेबाटै नउठेको ऋणको नोक्शानी ब्यवस्थापन गर्दै जाँदा बैंकको स्वास्थ्य पनि राम्रो भएर जान्छ’ ती पूर्व बैंकरले भने, ‘तर बैंकहरुले मिलाएर ‘एभरग्रिनिङ’ गर्छन् र वास्तविक खराब कर्जा बाहिर देखिँदैन।’

अन्तर्राष्ट्रिय मुद्रा कोषले पनि नेपाली बैंकको खराव कर्जालाई पत्याएको छैन। दक्षिण एसियामै सबैभन्दा कम खराव कर्जा नेपाली बैंकको छ। यहाँका बैंकहरुको खराब कर्जा दुई प्रतिशतभन्दा तल देखिन्छ। मुद्रा कोषले नेपाली बैंकहरुले बास्तविक खराव कर्जा लुकाएको शंका गरेको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *