सहकारी बैंक र हेफर इन्टरनेशनलबीच सम्झौता : उद्यमशिलता र उत्पादनका क्षेत्रमा सहकार्य गरिने

ललितपुर, १५ कात्तिक । राष्ट्रिय सहकारी बैंक लिमिटेड र हेफर इन्टरनेशनलबीच महिला शसक्तिकरण र उद्यमशिलता विकास र उत्पादनका क्षेत्रमा संयुक्त रुपमा काम गर्ने सम्झौता भएको छ ।  सहकारी बैंक र हेफर मिलेर उत्पादन, संकलन, प्रशोधन, बजारीकरणका क्षेत्रमा संयुक्त रुपमा काम गर्ने प्रतिवद्धता सहित सम्झौता गरिएको दुवै संस्थाले जनाएका छन् ।

सहकारी बैंक र हेफर इन्टरनेशलबीच भएको सम्झौता बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममार्फत सार्वजनिक गरिएको छ । सहकारी बैकका प्रवन्ध सञ्चालक के.बी. उप्रेती र हेफर इन्टरनेशनलका कन्ट्री डाइरेक्टर डा.शुभनारायण महतोले संयुक्त रुपमा विज्ञप्ती जारी गरी हेफर इन्टरनेशनलद्वारा प्रवद्र्धित महिला सहकारी संघ संस्थाहरुलाई कर्जा लगायत शिक्षा तथा तालिमका कार्यक्रममा सहकार्य गरिने उल्लेख छ ।
महिलाहरुलाई उद्यमशिल बनाई कृषि, पशुपालन लगायतका क्षेत्रमा क्रियाशिल गराउने र उत्पादन बढाएर आयात प्रतिस्थापन गर्ने योजनाका साथ सहकार्यलाई अगाडि बढाएको सो अवसरमा जानकारी दिइएको थियो ।

महिला र युवाहरुको जिम्मेवारीपूर्ण सहभागिता र प्रविधिको अधिकतम प्रयोगबाट मात्रै उत्पादन बढाउन सकिने भएकाले हेफर र सहकारी बैंक मिलेर उत्पादनमा केन्द्रीत गरिने बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले बताउनु भयो ।

देशव्यापी कार्यक्षेत्र भएको, ४४ शाखामार्फत सहकारी क्षेत्रको प्रवद्र्धनमा सक्रिय सहकारी बैंकसंगको सहकार्यले उत्पादनका क्षेत्रमा लागेका महिला सहकारीहरुलाई थप प्रभावकारी र व्यवस्थित गराउन दुवै संस्थाबीच सहकार्य भएको र यसले उत्पादन वृद्धि भई समृद्धिको अभियानमा थप प्रभावकारीता हुने हेफर इन्टरनेशनल नेपालका कन्ट्री डाइरेक्टर डा. शुभनारायण महतोले बताउनुभयो ।

सहकारी बैंकले सबै सहकारीहरुलाई कर्जा, तालिम लगायत आवश्यक सहयोग आफै गर्दै आएकोमा हेफरद्वारा सञ्चालित उद्यमशिल सहकारीहरुसंग पनि सहकार्य गर्ने र उत्पादनका क्षेत्रमा बढी केन्द्रीत गरिने बैंकका प्रवन्ध सञ्चालक के.बी.उप्रेतीले जानकारी दिनुभयो ।

ग्रामिण क्षेत्रमा संगठित भई उत्पादनका क्षेत्रमा क्रियाशिल महिला सहकारीहरुको प्रवद्र्धनमा जुटेको हेफरले सहकारीलाई वित्तीय तथा नीतिगत र शिक्षा तालिमका कार्यक्रममा सहयोग गर्नका लागि बैंकसंग सहकार्य गरिएको हेफर इन्टरनेशनल नेपालका कार्यक्रम संयोजक प्रकाश कटुवालले जानकारी दिनुभयो ।

हेफरद्वारा प्रवद्र्धित सामाजिक उद्यमी महिला सहकारीहरुले बाख्रापालन र दुध उत्पादनका क्षेत्रमा काम गरेका छन्, उनीहरुलाई वित्तीय स्रोत, प्रविधि र सहकारी सम्बन्धी शिक्षा तथा तालिमको आवश्यकता छ, कटुवालले भन्नुभयो ति सबै विषयमा सहकारी बैंकको सहयोग प्रभावकारी हुने भएकाले सहकार्य गरिएको हो ।

हेफर इन्टरनेशनल नेपालले २ सय २६ वटा महिला सहकारी संस्था र ३ वटा विषयगत जिल्ला सहकारी संघमार्फत ११ हजार भन्दा बढी महिला समुहलाई सशक्तिकरण गरेको छ । २ लाख ५० हजार परिवारलाई संगठित गर्दै अगाडि बढेको हेफर र १० हजार भन्दा बढी सहकारी संघ संस्थाहरु सदस्य रहेको सहकारी बैंकबीचको सहकार्यले महिलाहरुलाई उद्यमशिल बनाउन र उत्पादनका क्षेत्रमा केन्द्रीत गर्न सहज हुने बैंकका नायव महाप्रवन्धक बद्रीकुमार गुरागाईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *