हलो चुनाव चिन्हमा गाउँ पञ्चायत प्रमुख जित्ने खरो कम्युनिस्ट

काठमाडौं, १४ कात्तिक । साधगी, साधारण शैली तर कठोर संघर्षका पयार्य हुन् कृष्णप्रसाद दहाल । नेपाल कम्युनिस्ट पार्टीका तर्फबाट प्रतिनिधि सभामा मकवानपुर–१ बाट प्रतिनिधित्व गर्ने दहालले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालाई पराजित गरेका थिए ।

प्रतिनिधि सभाको अर्थ समिति सभापतिमा पनि निर्वाचित दहालको राजनीतिक जीवन ०३७ सालमा विद्यालयबाट सुरु भयो । उनले संघर्षको पहिलो खुड्कीलोबारे स्मरण गरे, ‘कम्युनिस्ट विचारधारा मन पथ्र्यो । त्यसबेला दललाई प्रतिबन्ध भए पनि विद्यार्थी राजनीति गर्न पाइन्थ्यो । म अनेरास्ववियुमा आवद्ध भएँ ।’

राजनीति र अध्ययन एकअर्काका परिपूरक थिए, उनका लागि । एसएलसी परिक्षा नजिकिएको थियो । विद्यार्थी राजनीति, संगठन निर्माणमा यति धेरै व्यस्त भए की ०३८ सालमा भएको एसएलसीमा उनी उत्तिर्ण हुन सकेनन् । ‘अंग्रेजी र अर्को विषय लाग्यो । एसएलसी फेल भइयो’, उनी सम्झन्छन्,‘पढाई अगाडी बढाउनुपर्ने रहर थियो । राजनीति छाड्न मन थिएन ।’

विद्यार्थी राजनीतिको लत लागिसकेको थियो, उनलाई । त्यसताका जिल्लाका विद्यार्थी नेताहरू नवराज प्याकुरेल, श्रीधर पोखरेल, बलराम सापकोटाले सदस्यता दिएका थिए । बरुण खतिवडासँग पनि उनको संगत बढिसकेको थियो । त्यसबीच विद्यार्थी राजनीतिलाई बलियो बनाउँदै जाँदा अध्ययनलाई पनि पुरा गर्नुपर्छ भन्ने इच्छाशक्तिले उनलाई ०३९ सालमा गाउँ छाड्न बाध्य बनायो । उनी एसएलसी सक्नकै लागि रौतहटको चन्द्रनिगाहपुर (अहिलेको चन्द्रपुर)तिर लागे ।

‘७ भाई छोरा पढाउनका लागि घरमा पनि समस्या थियो । जसोतसो चन्द्रनिगाहपुर पुगियो । फापरबारीका साथीसँग संयोगबस भेट भयो त्यहिँ बसीयो र ४० सालमा एसएलसी पास गरियो’, दहाल सुनाउँछन्,‘त्यसपछि गाउँ फर्किएँ ।’

पञ्चायत व्यवस्थाको जगजगी भएका बेला कम्युनिस्ट विचारलाई आत्मसाथ गरेर हिँडेका दहाललाई शिक्षक बन्नका लागि गाउँका पञ्च चक्रबहादुर घलेले आग्रह गरे । घलेसँग दहालको आफ्नै प्रकारको सम्बन्ध थियो तर विचार मिल्दैन थियो । उनले शिक्षकको जागिर पनि खाने र राजनीतिलाई पनि सँगै लैजाने अठोट गरे । धेरै पटकको आग्रह पछि उनी स्थानीय विद्यालयमा पढाउन राजी भए । तर, पहिलो दिनको अनुभव भने उनलाई छक्क पार्ने थियो ।

‘स्कुलमा ५ जना मास्टर भयौं, विद्यार्थी त तीन जना मात्र रहेछन्’, उनी जोड्छन्,‘यसरी हुँदैन विद्यार्थी अझ बढाउनुपर्छ भन्ने लाग्यो र गाउँ गाउँमा पढ्ने मान्छे खोज्न थालियो ।’

उनको ग्रामिण राजनीति र सम्बन्ध स्थापनाको एउटा आधारविन्दु विद्यार्थी खोज्ने काम पनि बनेको थियो, सायद । स्कुलका लागि पढ्ने मान्छे खोज्न पातलो बस्ती भएका ओल्लो डाँडा र पल्लो गाउँ गरी ६५ जना भेला पारे । भदौमा सुरु गरेको शिक्षण पेसा फागुनसम्म पुराउँदा उनले डेढ सय विद्यार्थी भर्ना गराए । नियमति भने ८०–९० जना आउने उनलाई स्मरण छ ।

गाउँबासीसम्म उनको सम्पर्क बढ्दै थियो, राजनीतिक चेतना भुसको आगो सल्काएजसरी जारी नै राखेका थिए । शिक्षकले थालेको राजनीतिक गति र पूर्वपञ्चको वैचारिक खाडल र मतभेद विस्तारै गाउँभरी सल्किनु कुनै ठूलो कुरा थिएन । त्यसबीचमा राती राती हुने गोप्य भेला र पञ्चायतविरुद्धका अभियान मूल पार्टीले विद्यार्थी राजनीति मार्फत गर्दैथियो । कान्ति निम्न माध्यमिक विद्यालयमा अध्यापन गराउँदैगर्दा ७ जना शिक्षक थिए । एक जनालाई पूवृपञ्च घलेले पिटिदिएछन् । त्यसपछि सुरु भयो राजनीतिक विभेदको सतहको द्वन्द्व । तर, दहालले त्यसको पनि व्यवस्थापन गर्ने कोशीश गरे ।

ग्रामिण बस्तीमा काम, राजनीति, संगठन विस्तार चलिरहेको थियो । कतिपयले दिने मान र सम्मानले उनलाई कम हौसाउँदैन थियो । ०४३ को अन्त्यतिर पञ्चायती सरकारले स्थानीय निकायको चुनाव आह्वान गर्यो । ‘अब त्यो चुनावमा भाग लिने कि नलिने भन्ने विषयमा बहस जारी थियो । हामी भाग लिने पक्षमा पुग्यौं’, उनी स्मरण गर्छन्,‘तर उम्मेदवार को बन्ने भन्ने विवाद थियो । मैले बुवालाई बनाउने कोशीश गरें तर त्यसमा सबै सन्तुष्ट भएनन् ।’

थिङ्गन गाउँ पञ्चायतमा २० बर्षदेखि राजावादी (पञ्च)को हालीमुहाली थियो । राजनीतिको एउटा कसी चन्द्रबहादुर घलेमा थियो । त्यो घेरा तोड्न मुस्किल हुने निक्र्यौल निस्किरहँदा चुनावका लागि पार्टीको प्रचारमा लाग्ने निर्णय भयो । दहाल उमेरले २३ टेक्तै थिए तर प्रचारको नेतृत्व छाडेनन् । ‘त्यहाँ गंगाराज बुलोन भन्ने प्रधानपञ्च थिए । २० बर्षदेखि जितिरहेका । त्यो गाउँमा ८० प्रतिशत तामाङ बस्ती थियो’, उनी स्मरण गर्छन्,‘हामीले चुनावमा जित्नु भनेको सपना मात्र थियो । तर, प्रचार छाड्न भएन ।’

दहालको नाम प्रधानपञ्चको उम्मेदवारीमा सर्वसम्मत भएपछि चुनावी अभियान सुरु भयो ।

‘चक्रबहादुरलाई टक्कर दिने तँ मात्र होस् भन्थे । पार्टीको नेता देवी ज्ञवाली हुनुहुन्थ्यो, रहर नहुँदा नहुँदै उठियो । १५/१६ का मान्छे लिएर घरघरमा गयौं । चुनाव चिन्ह हलो थियो । २० बर्षदेखि प्रधानपञ्चको शोषण रहेछ’ उनी सम्झन्छन्,‘१ नम्बर वडाबाट मत गन्न सुरु भयो । हामी डेढ सय भोटमा शून्य भयौं । २ नम्बरमा जाँदा ३० मत आयो । ३ नम्बरमा पुग्दा ५०÷६० मात्र आयो । अब पञ्चले जित्छन् भन्ने भयो । तर, ४ देखि निरन्तर हामीले पुर्दै, २० मतले जित्न सफल भयौं ।’

दहाललाई उम्मेदवारी कायम गराउने नेता देवी ज्ञवाली थिए । तिनै देवी जसले भरतपुर महानगरपालिकाको चुनावमा रेणु दहालसँग पराजय भोगे र भरतपुर–३ मा पुष्पकमल दाहाल प्रचण्डको चुनावी कमान्ड सम्हालेर जिताएर पठाए ।

दहालको राजनीतिक संघर्ष २३ बर्षको उमेरमा प्रधानपञ्च निर्वाचित भएपछि सुरु भयो । पार्टीको जिम्मेवारी थपियो । इलाका कमिटी हुँदै जिल्ला कमिटीमा पुगे । जागिरको तनाब भएन । ९ वटा गाउँ पञ्चायत उनको क्षेत्रमा पर्यो । थिङगनदेखि, मन्थली, शिखरपुर, छत्तिउन, धियाँल, फापरवारी, राईगाउँ, इपा, बोगटीमा पनि दहालको राजनीतिक छाप अनिवार्य पर्न थाल्यो ।

(दहालका राजनीतिक संघर्ष क्रमशः प्रकाशित हुँदै जानेछन्) 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *