भैँसीपालनबाट विदेशमा भन्दा स्वादेशमै चारगुणा बढी आम्दानी

रोजगारीको खोजीमा युवा विदेश पलायन हुने क्रम रोकिएको छैन् । तर स्वदेश फर्केकाले विदेशमा जत्तिकै परिश्रम गरे मनग्य आम्दानी गर्न सकिन्छ भन्ने पछिल्लो समय उदाहरणिय पात्रहरु देखा पर्न थालेका छन् । यस्तै पात्रमा दाङ तुलसीपुर १९ सक्रामका हरि रोका एक उदाहरणिय युवा हुन् ।

रोकाले विदेशबाट फर्केपछि शुरु गरेको व्यवसायिक भैँसीपालनबाट विदेशमा भन्दा चारगुणा बढी आम्दानी गर्दै आएका छन् । “विदेश हुँदा मासिक दशहजार कमाइ हुन्थ्यो”, उनले भने, “तर अहिले आफै व्यावसायिक भैँसीपालन गरेर मासिक रु ५० हजार हाराहारी आम्दानी गर्छु ।” मलेसिया पाँच वर्ष बसेर फर्केपछि दुई भैँसीबाट व्यवसाय शुरु गरेका रोकाले अहिले २० भैँसी पालेकाछन् । शुभलक्ष्मी पशुपालन फर्ममा मुर्रा क्रस र एउटा होलस्टेन गाई छ, जसमध्ये गाई र चार भैँसीले दूध दिन्छन् । एउटा भैसीले कम्तिमा पाँच लिटर दूध दिन्छ । उक्त दूध डेरीमा बेच्ने गरेकाछन् । दश लाख लगानीमा २०७१ साल देखि उनले व्यावसायिक भैँसीपालन शुरु भएको हो । थप १० भैंसी थप्ने लक्ष्य छ । व्यवसाय सञ्चालन गर्न उनले वाणिज्य बैंकबाट दश लाख ऋण लिएकाछन् ।

रोकाले तुलसीपुर उपमहानगरपालिकाबाट ४० लिटरको दूध बोक्ने क्यान, ढुवानी सेवालगायत करीब दुई लाख ५० हजार सहयोगसमेत प्राप्त गरेको बताउँछन् । भैँसीलाई दाना र घाँस खुवाउने गरिएको छ । भैँसीबाट उत्पादन भएको गोबरबाट रोकाले गोबर ग्यास निकाल्ने तयारी गरेको बताए ।

भैँसीको गोबर भने स्थानीय किसानलाई बिक्री गर्दै आएको रोकाले भनाई छ । आफूले व्यवसाय सञ्चालन गरे आफू अनुकूल चल्न सकिन्छ, तर अर्काको देशमा काम गर्न गए बिरामी भए पनि काममा खटिनुपर्ने उनले भनाइ थियो । रोका घरमै भैँसी पालेर दैनिक दूध, दही खान पाइने र आम्दानी पनि राम्रो हुने भन्दै यो पेशाबाट सन्तुष्ट भएको बताउँछन् । उनले गाईको एकलाख र अन्य भैंसीको २५ हजारदेखि माथिको बीमासमेत गरेकाछन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *