आठ लेनको बाहिरी चक्रपथ निर्माण शुरु, यसरी बढ्दैछ काम

काठमाडौं, १० वैशाख– सरकारले शहरी व्यवस्थापनका लागि बाहिरी चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) स्वीकृत गरेसँगै आयोजनाको काम अघि बढेको छ ।

बाहिरी चक्रपथमा पर्ने सतुंगल क्षेत्रको ६.६ किलोमिटरको जग्गा एकीकरणका लागि सरकारले उपत्यका विकास प्राधिकरणलाई जिम्मा दिएसँँगै प्रारम्भिक कार्य शुरु भएको हो ।
मन्त्रिपरिषद्को निर्णय प्राधिकरणमा आइपुग्ने बित्तिकै काम अगाडि बढिहाल्ने प्रवक्ता केशवप्रसाद न्यौपाने बताउँछन् । जग्गा एकीकरणका लागि जिल्ला प्रशासन कार्यालयले ३५ दिने सूचना प्रकाशित गरेपछि काम अगाडि बढ्नेछ ।

प्राधिकरणका अनुसार जग्गा प्राप्तिको प्रक्रियामा सरकारले कुनै ठूलो रकम खर्चिनुपर्ने छैन । पहिलो चरणमा पर्याप्त छलफल भइसकेका छन् ।
सरकारले एक किलोमिटरमा स्थानीय जग्गाधनीको सहभागितामा उपभोक्ता समिति बनाएर निर्माण गर्ने नमूना प्रस्ताव बनाएको छ, त्यसैअनुसार अगाडि बढ्ने प्रवक्ता न्यौपानेले बताए ।

योजनाअनुसार उपभोक्ता समितिमार्फत् आयोजना निर्माण गर्ने प्रारम्भिक योजना छ । सम्बन्धित नगरपालिकाका मेयर अध्यक्ष रहने उपभोक्ता समितिलाई नै बजेट उपलब्ध गराएर काम गराउने योजना बनाइएको छ ।

कसरी बन्छ बाहिरी चक्रपथ ?
बाहिरी चक्रपथ निर्माणका लागि ७२ किलोमिटरको आयोजनामा ७२ वटा उपभोक्ता समिति बन्नेछन् ।

बाहिरी चक्रपथमा पर्ने जग्गाको बिक्री वितरण आयोजनाले यसअघि नै रोकिसकेको छ । पहिलो खण्डमा जग्गाप्राप्तिको प्रक्रियामा स्थानीय बासिन्दासँग सहमति जुटिसकेकाले अब काम शुरु गर्न समस्या नहुने आयोजनाको दाबी छ ।
पहिलो खण्डमा पर्ने करीब दुईसय घरलाई भने सरकारकै तर्फबाट क्षतिपूर्ति दिएर हटाइनेछ ।
बाहिरी चक्रपथ खण्डमा एकीकरण हुनेमध्ये ७.८ प्रतिशत जग्गा मात्रै सडक क्षेत्रमा पर्छ ।

स्थानीयवासीलाई सोहीमूल्य बराबरको व्यवस्थित जग्गा दिएर मात्रै जग्गा लिने सरकारी योजना छ ।
निःशुल्क जग्गा उपलब्ध गराउँदा उनीहरुले चक्रपथ र जग्गा एकीकरणको कुल लागतमा आठ प्रतिशत योगदान गर्नेछन् । सरकारले यसबापत उनीहरुको ८० हजार रोपनी एकीकरण गरिदिनेछ ।

अधिग्रहणपछि पहिलो खण्डमा ७ हजार ८ सय रोपनी सरकारको नाममा आउनेछ । त्यसमध्ये करीब २५ सय रोपनी सडककै भागमा पर्नेछ भने बाँकी जमिनलाई सरकारले व्यवस्थित आवास क्षेत्रका रूपमा विकास गर्नेछ ।

१२ वर्षअघिको योजना कार्यान्वयनमा
सरकारले उपत्यकाका तीनै जिल्लालाई जोड्ने उक्त आयोजनाको अवधारणा करीब १२ वर्षअघि नै तयार पारेको थियो ।

काठमाडौंमा ३५.०८ किमि, ललितपुरमा १५.८० किमि र भक्तपुरमा २१.०५ किमि रहने गरी चक्रपथ निर्माण गरिनेछ ।

चोभारबाट गम्चा, सतुङ्गल, नैकाप, पूरानोभञ्ज्याङ, सीतापाइला, गोंगबु, टोखागाउँ, चपली, चुनिखेल, गोकर्णेश्वर हुँदै थलीडाँछी हुँदै दुवाकोट, सिर्जनानगर, दधिकोट, लुभु, विष्णुडोल, हरिसिद्धी, धापाखेल बुङ्मती हुँदै चोभारमै जोडिनेछ ।

यसमध्ये पहिलो चरणमा चोभार–सतुंगल खण्डमा नयाँ ट्र्याक खोल्नेसहित बस्ती विकासको पूर्वाधार निर्माण शुरु हुने तयारीमा छ ।

यस्तो बन्दैछ
बाहिरी चक्रपथ आठ लेनको हुनेछ । सडकका दुवै भागमा साइकल ट्र्याक रहनेछ भने ग्रीन बेल्टसहित किनारामा फूटपाथ पनि विकास गरिनेछ । सडक, फूटपाथ र साइकल ट्र्याकसहित ५० मिटर फराकिलो जमिन प्रयोग हुनेछ ।

चक्रपथको दायाँबायाँ २५० मिटर जग्गा एकीकरण गर्दै सडक, विद्युत्, खानेपानी, सार्वजनिक पार्क, पिकनिक स्पट, विद्यालय, अस्पताल, खुला स्थान, सपिङ मल, मनोरञ्जन स्थल लगायत पूर्वाधारको व्यवस्थित बस्ती विकास गर्ने योजना राखेको छ ।
उपत्यकाको ग्रामीण र शहरी क्षेत्रको सेवा सुविधाका लागि पहुँच पुग्ने विश्वास गरिएको छ । अरनिको र पृथ्वी राजमार्गसहित तराई जोड्ने फास्ट ट्र्याकमा पनि यो सडक जोडिने भएकाले यसले काठमाडौंमा गाडी लिएर आउनुपर्ने बाध्यतालाई हट्नेछ भने अव्यवस्थित शहरीकरणलाई रोक्न पनि यो फलदायी हुने सरकारको विश्वास छ ।

भित्री चक्रपथबाट बाहिरी चक्रपथमा जोड्ने ४७ वटा सडक रहने र भित्री संरचनामा ३४ पक्की पुल रहने आयोजनाले जनाएको छ ।

आयोजनाको खर्च
बाहिरी चक्रपथ निर्माणको लागि करीब ८ अर्ब ३६ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ । आयोजनाले हालसम्म विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर), परामर्श तथा कर्मचारी तलबका लागि मात्रै झण्डै १० करोड रकम खर्च गरिसकेको जनाएको छ । चक्रपथको पहिलो खण्ड निर्माणका लागि ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।मनीषा अवस्थीले लोकान्तरमा लेखेका छन् ।

2 Replies to “आठ लेनको बाहिरी चक्रपथ निर्माण शुरु, यसरी बढ्दैछ काम”

  1. आयोजनाको खर्च
    बाहिरी चक्रपथ निर्माणको लागि करीब ८ अर्ब ३६ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान छ

    चक्रपथको पहिलो खण्ड निर्माणका लागि ६ अर्ब रुपैयाँ लाग्ने अनुमान छ??

    it seems all money will be spend in first phase !!!!

  2. परामर्श र प्रशासनिक खर्चकाे नाममा बसी बसी तलब भत्ता खान पल्केका प्राधिकरणका पदाधिकारी र कर्मचारीले काम चाहीँ कहिले शुरू गर्ने हुन् कुन्नी ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *