आयल निगमको जग्गा खरिदमा वडाकार्यालयहरूको समेत मिलेमतो

काठमाण्डौं,२0 साउन/ आयल निगमले पेट्रोलियम पदार्थको भण्डारण गर्न जग्गा खरिद गर्दा सम्बन्धित वडा कार्यालयको समेत मिलेमतो रहेको देखिएको छ। सम्बन्धित जिल्लाका सर्वसाधारण र सांसदले चर्को मूल्यमा खरिद गरेको दाबी गरे पनि वडा कार्यालय सचिवले चलनचल्तीको मूल्य भन्दै मूल्यांकन गरेको पाइएको हो। रूपन्देहीको भैरहवाका वडा कार्यालयहरूले निगमलाई पठाएको मूल्यअनुसार बेलहिया भैरहवा, परासी बाइपास राजमार्ग मोहडामा चलनचल्तीको मूल्य प्रतिकठ्ठा १५ लाखदेखि १६ लाख रुपैयाँ छ।

 

बेलहिया भैरहवा परासी बाइपास राजमार्गको भित्री मोहडामा राजमार्ग नपर्ने क्षेत्रमा जग्गाको मूल्य ११ लाखदेखि १२ लाख रुपैयाँ उल्लेख छ। तर, उक्त क्षेत्रका सांसद्हरूले प्रतिकठ्ठा डेढलाख रुपैयाँ मात्रै पर्ने जानकारी संसदीय समितिलाई दिइसकेका छन्। मालपोत कार्यालयले पनि सडक मोहडामा एकलाख ५० हजार र भित्र एकलाख पर्ने जनाएको छ। निगमले भने प्रतिकठ्ठा १० लाख ९३ हजार रुपैयाँका दरले खरिद गरेको छ।

 

उक्त क्षेत्रमा भण्डारणको नाममा १४ बिघा ७ कठ्ठा ७.१ धुर जग्गा खरिद गरेको छ। झापाका वडा कार्यालयले पठाएको मूल्यअनुसार मेची राजमार्गसँग जोडिएका जग्गा चलनचल्ती मूल्य ३५ लाख, शाखाबाटो जोडिएको घडेरीयोग्य शाखा बाटो जोडिएको जग्गा २५ लाख र खेतीयोग्य उपशाखाले जोडिएको जग्गा १८ लाख तोकेको छ। त्यसक्षेत्रका सांसद्हरूले प्रतिकठ्ठा १ देखि २ लाख भन्दा बढी नपर्ने बताएका छन्। मालपोत कार्यालयले पनि सरकारी दर प्रतिकठ्ठा ५ लाख ७५ हजार पर्ने उल्लेख छ। तर, निगमले १३ लाख ५१ हजारको दरले २३ बिघा ३ कठ्ठा १३ धुर खरिद गरेको छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *