जग्गाको कित्ताकाट तिहारअघि खुल्दै, कार्यविधिलार्इ पूर्णता दिने तयारी अन्तिम चरणमा

काठमाडौं । जग्गाको कित्ता काट तिहार अगावै खुल्ने भएको छ ।कित्ताकाट सम्बन्धी कार्यविधि भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री पद्याकुमारी अर्यालले अध्ययन गरिरहेकी छिन् । कार्यविधि तिहार अगावै पारित गर्ने अर्यालले तयारी गरेकी छिन् ।

अर्यालले कार्यविधिको विषयमा विभिन्न विज्ञ तथा जानकारहरुसँग परामर्श गरिरहेकी छिन् । मन्त्रीले केहि दिनमै निर्णय गरी जिल्ला स्तरमा निर्देशन दिन सक्ने मन्त्रालयका प्रवक्ता जनकराज जोशीले बताए ।

‘हामीले जग्गा व्यवस्थापन सम्बन्धी सबै तयारी सकेर मन्त्री कहाँ पेस गरिसकेका छौं, मन्त्रीले यस विषयमा थप अध्ययन गरिरहकोले केहि दिनमै निर्णय हुनेछ’ प्रवक्ता जोशीले विकासन्युजसँग भने-‘तिहार अघि नै जिल्ला मातहत कार्यालयलाई निर्देशन दिन सक्नेछ ।’

जोशीका अनुसार मन्त्रालयले कार्यविधिलाई नियमावली नै बनाएर कानुनी रुप दिन लागेको हो । यसका लागि मन्त्रालयले कार्यविधिलाई मन्त्रिपरिषदमा पेस गर्नेछ । मन्त्रिपरिषदबाट पारित कार्यविधिले कानूनी रुप लिनेछ ।

मन्त्रालयले जग्गा कारोबारलाई व्यवस्थित बनाउन उक्त गृहकार्य सुरु गरेको हो । कित्ताकाट व्यवस्थित गर्ने कार्यविधिको मर्म खेतीयोग्य जमिन बचाउने रहेको प्रवक्ता जोशीले बताए ।

कित्ताकाट रोकिदाँ उद्योगी व्यवसायी मात्र नभएर हरेक जनता समस्यामा परेको घर जग्गा व्यवसायी महासंघका अध्यक्ष इच्छाराम तामाङले बताएका छन् ।

मन्त्रालय स्रोतका अनुसार कित्ताकाट खोल्नका लागि मन्त्री अर्यालले मन्त्रिपरिषदबाट सैद्धान्तिक सहमति लिनु पर्नेछ ।

जग्गाको कित्ताकाट नखुल्दा जग्गा व्यवसायीहरु भने समस्यामा परेका छन् । सरकारले २०७४ साउन २६ गते खेतीयोग्य जमिन कित्ताकाट गर्न रोक लगाएको थियो । यसअघि सर्वोच्च अदालतले २०७४ भदौ ४ गते संविधानको धारा २५ सम्पत्तिको हक व्यवस्थापनमा प्रतिकूल असर पुगेको भन्दै जग्गा प्लानिङ नरोक्न सरकारलाई आदेश दिएको थियो ।

मन्त्रालय टुक्रिनु भन्दा पहिले कृषि मन्त्री चक्रपाणी खनालले जग्गा कारोबारमा अनियमितता भएको भन्दै उनले कित्ताकाट खोल्ने तयारी गरेका थिए । तर मन्त्रालय टुक्रिएपछि खनालले सो प्रयासले पूर्णता पाउन सकेकाे थिएन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *