मापदण्ड र सम्पदा मिच्नेविरुद्ध आफै कारबाहीमा उत्रे कीर्तिपुरवासी

कीर्तिपुर, २१ असार । सम्पदा क्षेत्र मासेर र सार्वजनिक जमिन समेत हडपेर जथाभावी भौतिक निर्माण गर्नेलाई सर्वसाधारण जनता आफैं सङ्गठित बनी कारबाही गर्न थालेका छ । शनिबार बिहान कीर्तिपुरका जनता स्वयम् सङ्गठित भई जबरजस्ती सम्पदा क्षेत्र मिचेर बनाएको भौतिक निर्माण भत्काएका छन् ।
कीर्तिपुर नगरपालिका वडा नं. ५ स्थित पाङ्गा, जाखा कन्याचौर परिसरमा झापा स्थायी घर भएका सानु धिमालको निर्माणाधीन घरले गोरेटो बाटो मिचेको, बाटोको मापदण्ड नछोडेको, खानेपानी पाइपसमेत जगभित्र पारेर निर्माण गरेको, ऐतिहासिक कुवा (बोंगा वःपी) को सार्वजनिक जग्गा समेत आप्mनै पुर्जामा गाभेको विरोधमा स्थानीयवासीले डीपीसीसम्म निर्मित संरचना भत्काइदिएका छन् । यसअघि स्थानीय बासिन्दाले यसप्रकार अनियमित निर्माण नगर्न पटक – पटक चेतावनी दिएका थिए ।
कीर्तिपुर नगरपालिका वडा ५ को वडा कार्यालयले नक्सामा मापदण्डअनुसार परिवर्तनमा गर्न गरेको आग्रह समेतलाई लत्याएर घर निर्माण कार्यलाई निरन्तरता दिएपछि स्थानीय जनता आक्रोशित भएका हुन् । उनीहरूले शनिबार दबाबमूलक कार्यक्रमअन्तर्गत धिमालको निर्माणाधिन घरको डीपीसी ढलान भत्काएका हुन् ।
सत्ता शक्ति र भित्री चलखेल गरेर धिमालले उच्च अदालतमा परेको मुद्दा समेत आफ्नो पक्षमा फैसला गर्न सफल भएका थिए ।
अदालतसमक्ष प्रतिवादीले गोरेटो बाटो मिचेको, बाटोको मापदण्ड नछोडेको, खानेपानी पाइपसमेत जगभित्र पारेर ऐतिहासिक कुवा (बोंगा, वपी) रहेको सार्वजनिक जग्गा समेत आफ्नै पुर्जामा गाभेको कागजात पेस गर्दा पनि सत्ता र शक्तिको आधारमा उच्च अदालतले अन्यायपूर्ण फैसला गरेको भन्दै स्थानीय स्वयम् सार्वजनिक सम्पत्ति जोगाउन अग्रसर भएका हुन् । न्यायालयलाई सतर्क गर्ने तथा मापदण्ड र सम्पदा म्हास्ने प्रवृतिलाई निरुत्साही पार्न जनता स्वयम्ले कारबाही अगाडि बढाएको स्थानीय जनताको भनाइ छ ।
शनिबारको दबाब कार्यक्रममा सहभागी बन्न स्थानीयले शुक्रबार सार्वजनिक आह्वान गरेको थियो । जनताले स्वतःस्र्फतरूपमा गरेको सो कार्यक्रममा कीर्तिपुर नगरपालिका र प्रहरी प्रशासनले समेत सहयोग गरेको थियो ।
प्रहरी प्रशासनले जनचाहना र वास्तविकताको अध्ययन गरी जनताकै पक्षमा उभिएको देखियो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *