विवेक नपुर्याउँदा माथिल्लो तामाकोसी जलविद्युतमा स्थानीयवासी ठगिए, ३ बर्षसम्म लगानी फ्रिज, साधारण सेयरमा आवेदन दिनबाट वञ्चित

काठमाडौं । दोलखा घर भई हाल स्वयम्भूमा बस्दै आएका सानु मानन्धरले आफ्नो परिवारका ११ जना सदस्यको नाममा माथिल्लो ताकोकोसी जलविद्युत आयोजनाले स्थानीयवासीका लागि जारी गरेको सेयरमा प्रतिसदस्य ३०/३० कित्ता आवेदन दिए । एउटै आवेदकको धेरै कित्ता सेयर नपर्ने सामान्य जानकारी पाएका उनले परिवारका सबै सदस्यको नाममा सेयर आवेदन गर्दा हाल सर्वसाधारणको लागि खुलेको सेयरमा आवेदन दिनबाट वञ्चित भएका छन् भने ३ बर्षसम्म बिक्री गर्नै नपाउने सेयरमा उनको लगानी फ्रिज भएको छ ।

मानन्धर एक प्रतिनिधि पात्र मात्र हुन् । विवेकपूर्वक लगानी गर्न नजान्दा उनीजस्तै माथिल्लो तामाकोसी आयोजनाका प्रभावित एवं स्थानीयवासी पनि ठगिएका छन् । आयोजनाले विभिन्न चरणमा निष्कासन गरेको सेयरमा उचित लगानी गर्न नजान्दा यस्तो अवस्था आएको हो । स्थानीय जनप्रतिनिधिहरुले समेत आयोजनामा लगानी गर्न सुझाए पनि अरु केही थाहा नभएको उनले बताए ।

आयोजनाले गत भदौमा प्रभावित एवं स्थानीयवासीका लागि १ अर्ब ५ करोड रुपैंया बराबरका १ करोड ५ लाख कित्ता सेयर छुट्याएको थियो जसमध्ये २ लाख २२ हजार आवेदकले आवेदन दिएका थिए । न्यूनतम आवेदन दिनेको संख्यालाई छोड्दा समेत उक्त सेयर स्थानीयले औसत ४७ कित्ता प्राप्त गरेका छन् तर यो शेयर ३ बर्षसम्म दोस्रो बजारमा बेच्न पाइँदैन भने पअिले नै सेयर पाएका कर्मचारी सञ्चयकोषका सञ्चयकर्ता र स्थानीयवासीले आवेदन दिन पाउँदैनन् ।

आगामी बिहीबारदेखि तामाकोसीले सर्वसाधारणका लागि १ अर्ब ५८ करोड बराबरका १ करोड ५८ लाख कित्ता सेयर निष्कासन गर्दैछ । उक्त सेयरमा करिब ३ लाख आवेदक पुग्नसक्ने निष्कासन तथा बिक्री प्रबन्धक नागरिक लगानी कोषको अनुमान छ । कोषको सेयर शाखाका प्रमुख किशोरजंग कार्कीका अनुसार सञ्चय कोषका सञ्चयकर्ता कर्मचारी र स्थानीयको ठूलो सहभागिता भइसकेको र पहिले भरेका आवेदकले सर्वसाधारणका लागि छुट्याइएको सेयरमा आवेदन दिन नपाउने भएकोले आवेदक संख्या ३ लाखमा सीमित हुनसक्ने पछिल्लो अनुमान गरिएको जानकारी दिए ।

तर ३ लाखको संख्यामा आवेदक पुग्न पनि हालसम्मको आईपीओ इतिहासमै नयाँ रेकर्ड कायम गर्नुपर्ने अवस्था भएकोले त्यो सहज नभएको विश्लेषकहरु बताउँछन् । त्यसमाथि तामाकोसी आयोजना सम्पन्न हुन ढिलाई हुँदा लागत बढ्दै गएको अवस्थामा लगानीकर्ताको आकर्षण थप घट्ने हुनाले पनि आवेदक संख्याले ऐतिहासिक रेकर्ड बनाउन कठिन हुनसक्छ ।

कोषले अनुमान गरेकै संख्यामा आवेदकले आवेदक आए पनि एक आवेदकले न्यूनतम ५० कित्ता भन्दा बढी सेयर पर्ने निश्चित छ । आवेदकको संख्या घटेको अवस्थामा यो दर थप बढ्नेछ । साधारण सेयरधनीका लागि खुलाइएको सेयर दोस्रो बजारमा तत्काल बिक्री गर्न मिल्छ तर स्थानीयवासीको सेयर ३ बर्षसम्म बिक्रीका लागि योग्य हुँदैन । यसरी लगानीको लागि विवेकपूर्ण निर्णय गर्न नसक्दा स्थानीय लगानीकर्ताले आफ्नो लगानी ३ बर्ष फ्रिज हुने अवस्था आएको छ भने प्राप्त गरेको सेयर संख्या समेत न्यून देखिएको छ ।

४५६ मेगावाटको सो आयोजना आउदो असारसम्म सम्पन्न हुने लक्ष्य लिएको छ । भूकम्प नाकावन्दी र समय लम्बिएका कारण आयोजनाको लागत बढेर ६५ अर्ब रुपैयाँ पुग्ने अनुमान गरिएको छ । विद्युत उत्पादनको पहिलो वर्ष ९ अर्ब रुपैयाँ आम्दानी गर्ने छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *