हामीले हेपेका खाद्यवस्तु

फर्सीको मिठो तरकारी पकाएँ भनेर फुर्किदै खाना पस्किएकी गृहिणीलाई उनका श्रीमानले ‘हत्तेरिका अरु तरकारी नै छैन कि क्या हो?’ भन्दै रिस देखाए। उनी मुख जुठो मात्रै गरी उठेको देखेर श्रीमतीको मन दिनभरि अमिलो भईरह्यो। बेलुका हरियो भटमास र आलु मिसाएर बास्ना आउने गरी तरकारी बनाएर बसिन्।

 

८ बजेतिर घर आएका श्रीमानले श्रीमतीलाई मिठो मुस्कानका साथ भने, ‘आज दिउँसो त एउटा साथीको घरम मज्जासँग खाइयो। कस्तो मिठो पम्पकिनको सुप बनाएको रहेछ। अष्ट्रेलियाबाट आएको छोराले सुकेको पम्पकिन ल्याएको रे। तिमीले पनि त्यसैगरी सुप बनाउन सिके हुन्थ्यो नी।’

 

छक्क परेकी श्रीमतीले बुझिन् कि श्रीमान्लाई अष्ट्रेलियाबाट आएको पम्पकिन नेपालीमा फर्सी नै हो भन्ने थाहा रहेनछ। उनले केही नबोली खाना खान बोलाइन्। श्रीमान् हात धोेएर खान बसे। उनले भटमासको तरकारी देखेर नाक खुम्च्याउँदै भने, साथीको घरमा खाएको सोयाबिन सलाद निकै दामी थियो। सोयाबिनलाई ३ मिनेट उसिनेर नुन र मरिच छर्केको। वाह! तर हामी नेपालीको भान्सामा चाहिँ गुन्द्रुक, भटमास र आलुले नै राज्य गर्ने भयो।’

 

‘पम्पकिन’ र ‘सोयाबिन’ लाई अति उच्च देख्ने अनि फर्सी र भटमासलाई खत्तम भन्ने यस्तो मानिसकताले हाम्रो देशमा जरो गाडेको छ। अहिले नेपालमा आफ्नो मौलिक खानालाई बेवास्ता गरेर बाहिरबाट आएको अङ्ग्रेजी नामको त्यही खानालाई महत्व दिने गरिएको छ। त्यही खाद्य बस्तु बिदेशबाट आएको भनेपछि विभिन्न परिकार बनाएर खुवाउन सिकाइन्छ। तर हामीले नै उत्पादन गरेको चाहिँ बेवास्ता मात्र होइन, हेला नै गरिन्छ।

 

फर्सीको खीरले कुपोषणबाट बचाउन सक्छ भन्ने थाहा भएपछि गाउँ–गाउँमा महिला स्वास्थ्य स्वयम्सेविका खोज्न हिँडे। गाउँभरिमा एउटा फर्सी पाएँ र त्यसको खीर बनाएर बालबालिकालाई खुवाउन आमाहरुलाई सिकाएँ। यो देखेर आमाहरु मरीमरी हाँसे। ‘यी नानीले के के न सिकाउँछिन् भनेको त जाबो फर्सीको खीर बनाउन पो रहेछ। हामी त यस्ता फर्सी कति खान्छौं कति। जाबो फर्सी खाएर के तागत लाग्दो हो? उनीहरुले भने। उनले के भनून, स्वास्थ्य चौकीमा त्यही सिकाईएको थियो। यो घटना विवरण कर्णालीकी एक जना सामाजिक अभियन्ताले पोषणसम्बन्धी छलफलमा सुनाएकी हुन्।

 

काठमाडौंमा पनि पम्पकिनको खीरको महत्वको विषयमा डाक्टर र नर्सलाई जम्मा गरेर गोष्ठी गरियो। पम्पकिनको खीर बनाएर खुवाए बालबालिकाको स्वास्थ्य राम्रो हुन्छ भनेर सिकाईयो। अर्थात फर्सी स्वास्थ्यका लागि राम्रो हो भन्ने बुझ्न हामी नेपालीलाई विदेशबाट आएका र अङ्ग्रेजी बोल्ने व्यक्तिले नै पढाउनुपर्ने भयो। नेपालका पोषणविद्, बालरोग विशेषज्ञले यहि कुरा (फर्सी स्वास्थ्यका लागि राम्रो हो।) बोल्दा स्वास्थ्य मन्त्रालयका पदाधिकारी, योजना आयोग कसैले वास्ता गर्दैनन्। ‘फर्सीले पनि कुपोषण कम गर्छ र? भनेर बेवास्ता गरिन्छ। तर अहिले त फर्सी जताततै छाएको छ। नेपालमा फर्सीको पनि दिन आएको छ।

 

स्थानीय स्तरमा महत्व बुझाइएन भने फर्सीलाई हेला गर्न र उत्पादन कम हुँदै जाने निश्चित छ। तर फर्सी स्वास्थ्यका लागि निकै लाभदायक भएकाले भविष्यमा कुपोषण हटाउन भनेर विदेशबाट प्याकेटमा ‘पम्पकिन नट’ र पम्पकिन फुड’ भनेर ल्याइएका फर्सीका महँगो परिकार किन्न बाध्य पारिन वा स्वास्थ्य मन्त्रालयले किनेर बाँड्न पनि बेर छैन। त्यसका लागि नै केही वर्ष भनेर कुनै दातृ निकायले अनुदान दिए पनि नौलो हुने छैन। भूकम्पपीडित बालबालिकालाई स्वास्थ्य मन्त्रालयले बदाम र चिनीबाट बनेका प्याकेट बाँड्यो। अभिभावकहरु यस्ता प्याकेट पाएपछि ‘यो त विदेशबाट आएको महँगो हुन्छ रे, बलियो बनाउँछ’ भन्ने विश्वास गर्ने नै भए। यस्ता पोका पुगेपछि स्थानीय उत्पादन सिमी, कोदो, फापर, जौ , आलु आदि बच्चालाई दिनै चाहँदैनन्। गुलियो भएपछि बच्चाले पनि मज्जाले खाने भए। तर बच्चाको दाँत र पोषणमा कति समस्या थपिएको छ भनेर कसैले हेर्दैन। यसले थप परनिर्भर बनाउँदै छ भन्नेमा योजनाकारहरुको पनि ध्यान पुगेको देखिदैन।

 

पोषण र स्वादका दृष्टिले महत्वपुर्ण मानिएको आलुलाई कतिपय स्थान र अवस्थामा ज्यादै निकृष्ट रुपमा पनि हेर्ने गरिन्छ। जाँचमा असफल भयो भने ‘आलु खायो’ भनेर आलुको अवमूल्यन गरिन्छ। ‘आलु खाएर बाँच्नुपरेको छ’ भनेर खाद्य सुरक्षा नभएको संकेत गरिन्छ। अर्थात्, हाम्रो समाजमा आलुलाई अवहेलना गरेको देखिन्छ। तर अर्कोतिर ‘चिप्स’, ‘फे्रन्च फ्राई’ जस्ता क्यालोरी मात्र भएका तर महँगा त्यही आलुका परिकारलाई चाहिँ इज्जतसाथ लिने गरिन्छ। यस्तै, खानामा बढी निर्भर हुनेहरुले कुपोषणको सिकार भएको पनि पत्तो पाएका हुँदैनन्।

 

आलु उत्तम खाद्य पदार्थ हो र यसको उपयोगको खाद्य सुरक्षामा महत्वपुर्ण भुमिका निर्वाह गर्न सक्छ। तर यसमा रहेको पोषणले कुपोषण हटाउन मद्धत गर्न सक्छ भन्ने तथ्य प्रायः बिर्सीने गरिन्छ वा लुकाइन्छ।
आलुमा चामलको जस्तै माड हुन्छ, प्रोटिन, विभिन्न प्रकारका खनिज पनि पर्याप्त मात्रामा पाइन्छन्। १ सय ग्राम आलु (३ वटा मध्यम आकारका आलु) मा कार्बोहाइड्रेट २३ ग्राम, प्रोटिन १.६ ग्राम, क्याल्सियम १० मिलीग्राम, पानी ७७ ग्राम पाइन्छ। क्याल्सियम, फस्फोरस, भिटामीन सी, लौह तत्व जस्ता सुक्ष्म पोषक पनि पाइन्छन्।

 

चिल्लो कम हुने भएकाले आलुले शरीरको तौल सन्तुलित राख्न मद्धत गर्छ। तर आलुको यो पौष्टिकतालाई कतै पनि विज्ञापन गरिएको हुँदैन। नेपालका विभिन्न भागमा उत्पादन हुने भए पनि प्रयोग गर्न नजानेर वा महत्व नबुझेर आलुलाई मुख्य भोजन बनाउनु पर्दाको अवस्थालाई दुखद रुपमा चित्रण गर्ने गरिन्छ। ‘अनिकाल लागेपछि आलु खाएर बाँच्नुपरेको’ जस्तो हाँस्यापद समाचार पनि कहिलेकाहीँ देखिन्छ।आलुमा चालम र आँटा जत्तिकै पौष्टिक तत्व पाईन्छ। बालबालिकालाई कुपोषणबाट बचाउन अन्नप्राशनपछि आलु उसिनी बेस्सरी मिचेर दिनमा २–३ चोटि खुवाउनु राम्रो हुन्छ। कतिपय मानिसले तौल बढ्ने चिन्ता गरेर आलु खान छाड्छन्। बेस्सरी चिल्लो र मसला हालेर वा तारेर आलु खाईयो भने चाहीँ तौल बढ्छ। नत्र आलु तौल बढाउने किसिमको खाद्य वस्तु होइन। आलु काँचो पनि खान सकिन्छ भन्ने कुरामा हामी कमैलाई विश्वास लाग्छ। तर काँचो आलु कोरेसोमा कोरी अचार बनाएर खाँदा शरीरको तौल ठिक राख्न मद्धत पुग्छ। पूरा नउसिनीकन अलि काँचोमै आइयो भने पनि आलुका पौष्टिक तत्वहरु पर्याप्त मात्रामा पाइन्छन्। समग्रमा आलु राम्रो पौष्टिक भोजन हो।

 

कर्णाली क्षेत्रमा आलु पर्याप्त पाइन्छ तर त्यस ठाउँमा खाद्य सुरक्षा छैन, अनिकाल लाग्यो भने समाचार आइरहन्छ। आलु भए पनि चामल नहुनुलाई खाद्य असुरक्षा भनेर प्रचार गरिन्छ, जुन एकदमै गलत हो। सरकारले विदेशी दातृ निकायको सहयोगमा त्यहाँका मानिसलाई भात खुवाउने बानी लगाएको आलु प्रशस्त फल्दा पनि खाद्य असुरक्षा भएको मानिन्छ। स्थानीय तहमा खाद्य वस्तु उत्पादन भइरहेको छ भने त्यसलाई खाद्य असुरक्षा भन्न मिल्दैन। युरोपका धेरै देशमा आलु नै कार्बोहाइड्रेटको प्रमुख स्रोत हो। विभिन्न तरिकाले आलु पकाएर, बफाएर, उसिनेर स्मास्ड (अर्थात् ढिडो) जस्तो बनाएर खाइन्छ। र, ती ठाउँमा अरु अन्न उत्पादन नगरिए पनि खाद्य असुरक्षा भएको खबर आउँदैन।

 

यस्तै, प्रकृतिले दिएको अति राम्रो उपहार हो आलस। मधेसतिर यसलाई अल्सी पनि भनिन्छ। नेपालमा यसको महत्व त्यति धेरैलाई थाहा छैन। आलसमा विभिन्न किसिमको पोषक तत्व र औषधीय गुण छ।
आलसमा पाईने एउटा महात्वपुर्ण तत्व ओमेगा फ्याट्टी एसिड हो, जुन माछामा पाइन्छ र महँगो पैसा तिरेर खाइन्छ। तर सस्तोमै त्यो एसिड आलसमा पाइन्छ भन्ने कुरा धेरैलाई थाहा छैन। अर्को बिशेषता भनेको आदशमा भिटामिन बी पर्याप्त हुनु हो। सूक्ष्म पौष्टिक तत्व म्याग्नेसियम पनि यसमा पर्याप्त हुन्छ। १ सय ग्राम आलसमा प्रोटिन १८ प्रतिशत हुन्छ। २७.३ ग्राम रेसादार पदार्थ पाईन्छ। रेसादार पदार्थले कब्जियत हटाउन मात्र होइन, शरीरको मोटोपना घटाउन र उच्च रक्तचाप कम गर्न पनि महत्वपुर्ण भुमिका खेल्छ। क्याल्सियम, जिन्क, म्याग्नेसियम आदिले यो पोषणयुक्त हुन्छ।

 

केही अनुसन्धानले आलस नियमीत खाँदा महिनावारीका बेदा देखा पर्ने समस्यामा फाइदा हुने देखाएका छन्। दिनमा २–३ चम्चा आलस प्रयोग गर्नु सवै महिलाका लागि उपयोगी हुन्छ। तर जहिले पनि एउटै तरिकाले खाईरहनुपर्दैन। अचार बनाएर, रोटी, सुप जस्ता खानेकुरामा मिसाएर अनेक तरिकाले खान सकिन्छ।

 

अर्को महत्वपुर्ण खाद्य वस्तु हो, सिस्नो जसलाई समाजमा सधैं नकारात्मक रुपमा हेर्ने गरिन्छ। ‘सिस्नो खालास् नि’, ‘सिस्नोले हानेपछि बुद्धि आउला नि’ भन्ने जस्ता नकारात्मक सन्दर्भमा सिस्नोलाई जोड्ने गरिन्छ।
दण्ड दिन सिस्नोपानी लगाउने र दुख्ने कुरा त बचपनम धेरैले अनुभव गरेकै हो। तर त्यही सिस्नो खाँदा स्वास्थ्य राम्रो हुन्छ भन्ने तथ्य चाहीँ कमैलाई थाहा छ। १ सय ग्राम सिस्नोमा झन्डै ३३ ग्राम प्रोटिन र ३७ ग्राम कार्बोहाइड्रेट पाईन्छ। सिस्नोमा भिटामीन ए, पोटासियम र क्याल्सियम पनि पाइन्छ।

 

चरिकोटमा सिस्नोको धुलो बनाएर बेच्ने गरिन्छ। बुझ्ने मानिसले चरिकोटबाट ल्याउने कोसेलीमा सिस्नोको धुलो पनि हुन थालेको छ। सिस्नोको धूलोलाई सुप बनाएर, दाल तरकारी आदिमा हालेर खान सकिन्छ। यसरी खाँदा विभिन्न किसिमको सुक्ष्म पोषक तत्व पर्याप्त पाइन्छ।

 

नेपाली समाजमा गिठ्ठा –भ्याकुर, तरुल जस्ता कन्दमुललाई प्रायः राम्रो आहार मानिदैँन तर यस्ता खाद्य वस्तुमा शरीरलाई पोषण दिने थुप्रै गुण हुन्छन्। यस्ता गुणबारे पनि धेरै मानिस अनभिज्ञ नै छन्। वास्तवमा यस्ता खाद्य वस्तु पोषणले भरिपूर्ण हुन्छन्। यसै कारण पनि संसारमा आदिवासी जनजातिले यस्ता खाद्य वस्तुलाई निरन्तर उपभोग गर्दे आएका छन्। आधुनिक समाजमा पनि यसको महत्व् बढ्दै गएको पाइएको छ। यस्ता कन्दमुलका विषयमा अहिले अध्ययन, अनुसन्धान पनि भइरहेका छन्। साथै, यस्ता कन्दमुलका विषयमा विभिन्न आधुनिक परिकार पनि तयार गर्न थालिएको छ। बुझ्नेहरुले सहर–बजारमा पनि यसलाई महत्वका साथ उपभोग गरिरहेका छन्। तर कतिपय मानिसले नबुझेर यसलाई उपेक्षा गर्ने र गरिब तथा पिछडिएकाले खाने खानाका रुपम लिने गरेका छन्।

 

संसारमा ६ सय किसिमका गिठ्ठा–भ्याकुर पाइन्छन्। संसारका झन्डै ६ करोड मानिसले दैनिक भोजनका रुप

मा गिठ्ठा–भ्याकुर प्रयोग गर्छन। पश्चिमल अफ्रिकामा यसको प्रयोग अत्यधिक हुन्छ। नेपालमा खासगरी जंगल छेउछाउ बस्ने राउटे, चेपाङ लगायतका जातिले यसको उपभोग बढि गर्ने गरेको पाइन्छ। औषधिय गुण र पोषणकै कारण जापान र ब्रिटेनमा पनि अहिले यो लोकप्रिय बनेको छ।

खासगरी जंगलमा बढी हुने गिठ्ठा शक्तिको राम्रो स्रोत हो। यसमा काब्रोहाइड्रेट र रेसादार पदार्थ पनि पर्याप्त मात्रामा हुन्छ जसले कब्जियत कम गर्छ, कोलेस्टेरोल पनि घट्छ। गिठ्ठामा भिटामीन बी र फोलिक एसीडका साथै म्याग्नेसियम, पोटासियम, लौह तत्व जस्ता विभिन्न किसिमका सुक्ष्म पोषण तत्व पनि हुन्छन्।

 

नेपालमा मध्य पहाडी भूभाग र तराईका बाक्ला जंगलमा गिठ्ठा पाइन्छ। चेपाङहरुका लागि यो दैनिक खाद्य वस्तु नै हो। कतिपय अवस्थामा भोकमरी भएर चेपाङले गिठ्ठा–भ्याकुर खाइरहेकाले चामल लगायतका खाद्य बस्तु उपलब्ध गराउनुपर्ने कुरा पनि उठ्ने गरेका छ। यस सन्दर्भमा गिठ्ठा–भ्याकुर खाद्य वस्तु नै होइन भन्ने किसिमको प्रस्तुति उचित होइन। गिठ्ठा–भ्याकुर अझ पोषिला हुन्छन्। यस्ता खाद्य वस्तुको निरन्तर उपलब्धता महत्वपुर्ण हो। गिठ्ठा–भ्याकुर पोषणको राम्रो स्रोत हो भन्ने वैज्ञानिक अनुसन्धानबाट पुष्टि भइसकेको छ।

 

यस तथ्यले आलु, तरुल र गिठ्ठा–भ्याकुर शक्तिका राम्रा स्रोत हुन् भन्ने देखाउँछ। मानिसमा पोषणको स्थिती सुधार गर्न गिठ्ठा–भ्याकुरको उपभोगलाई बढाउन सकिन्छ। यस्ता कन्दमुल अहिलेसम्म त प्रायः जंगलमा खोजेर खाने चलन छ। जमिनमा सजिलैसँग फल्न सक्ने हुनाले यसको खेती फल्न सक्ने हुनाले यसको खेती पनि गर्न सकिन्छ। अफ्रिकामा गिठ्ठा–भ्याकुरकै लागि विशेष प्रकारको पर्व मनाईन्छ। त्यहाँ गिठ्ठा–भ्याकुरको पिठो बनाइ केकमा हालेर वा सुप बनाएर खाने चलन छ। जापानमा गिठ्ठा–भ्याकुरको नुडल बनाउने गरिन्छ। चीनमा गिठ्ठा–भ्याकुरको औषधीय गुणको बढी उपयोग गरिन्छ। यसबाट निस्कने रस जस्तो पदार्थलाई घाउ, पिलो आदि निको पार्न औषधिका रुपमा लगाइन्छ।

 

नेपालको सन्दर्भमा गिठ्ठा–भ्याकुरको आर्थिक र पौष्टिक दुवै महत्व छ। यसलाई विभिन्न खानेकुरासँग मिसाएर खाँदा स्वाद र पौष्टिकता बढछ्। व्यापारिक दृष्टिले उत्पादन गरी पिठो, नुडल्स, चिप आदि बनाएर बेच्न सकिन्छ। तर संसारमा पाइने सबै गिठ्ठा–भ्याकुर खानयोग्य हुँदैनन्। अफ्रिकामा पाइने कतिपय गिठ्ठा–भ्याकुर खाँदा होस पुर्याउनुपर्छ। तिनमा विषालु तत्व पनि हुन सक्छ, जसलाई विशेष किसिमबाट पकाएर निकाल्ने गरिन्छ। नेपालमा पाइने गिठ्ठा–भ्याकुरमा विषालुपन पाइएको छैन। केही तीतोपना चाहिँ छ। यो तीतोपना पकाउँदा निस्किन सक्छ। उमालेर, आगोमा पोलेर तीतोपना हटाउन सकिन्छ। मकवानपुरस्थित एक संस्थाले यसको चिप्स, नुडल्स बनाएर बेच्न थालेका खबर केही वर्षअघि सुनिएको थियो।

 

अहिले नेपालका बालबालिकालाई कुपोषणबाट बचाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दा स्वास्थ्य कार्यकर्ता र स्वयम्सेविकालाई प्याकेटका खानेकुरा र औषधि आदिले नै कुपोषण कम हुन्छ भन्ने ज्ञान दिने गरिन्छ। उनीहरुमा यस्तो मानसिकता हटाउनै पर्छ। हाम्रा भान्सा र स्थानीय स्तरमा के के उपलब्ध हुन्छन्, तिनैबाट स्वादिष्ट र पोषणयुक्त खाना बालबालिकालाई खुवाउन सिकाउनुपर्छ। स्थानीय स्तरमा पाइने खाद्य वस्तुलाई बालबालिकाको स्वादअनुरुप स्वादिष्ट र पोषणयुक्त बनाउन सकिन्छ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *