कानूनविपरीत घरघरमा सीसी क्यामेरा

अपराध नियन्त्रण र शान्ति सुरक्षाको उद्देश्यले अहिले घरघरमा सीसी क्यामेरा जडान गर्न थालिएको छ । यस्ता प्रविधिले आपराधिक गतिविधि नियन्त्रण गर्नसमेत ठूलो भूमिका खेलेको प्रहरीको भनाइ छ ।

तर, पछिल्लो समय सीसी क्यामेरा जडान र त्यसको उचित अनुगमन नहुँदा दुरुपयोगसमेत हुने गरेको पाइएको छ । ४ जेठमा काठमाडौंको जोरपाटीस्थित बुद्धराम सुनारको भीमेश्वर सुनचाँदी पसलमा चार जनाको समूहले दिउँसै सुनारलाई खुकुरी देखाउँदै उनको सुनचाँदी पसल लुटे ।

उनीहरुले बुद्धिरामको काउन्टरबाट ८० हजार रुपैयाँ नगद लुटेका थिए । सुनारले पसलमा सीसी क्यामेरा जडान गरेका कारण लुटेरा समूहको पहिचान गर्न प्रहरीलाई सजिलो भएको थियो ।

तर, फरार अभियुक्त पक्राउ गर्नुपूर्व नै सुनारले सीसी क्यामेराले कैद गरेको भिडियो सार्वजनिक गरेपछि प्रहरीलाई अभियुक्त पक्राउ गर्न समस्या भएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक (डीएसपी) नरेन्द्र चन्दले भने ।

भिडियो सार्वजनिक भएपछि भागेका लुटेरालाई घटनाको २० दिनपछि महानगरीय अपराध महाशाखाको टोलीले २५ जेठमा पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा इलामका २४ वर्षीय ‘धराने’ भनिने नितेस तामाङ, रौतहटको चन्द्रनिगाहपुर–२ का २३ वर्षीय ‘मन्द्रे’ भनिने अजय ध्यावा तामाङ, काभ्रे चौरीदेरराली–३ का २३ वर्षीय ‘बाहुन’ भनिने रुपेश चौलागाईं र मकवानपुर शिखरपानी–८ का ३० वर्षीय ‘जिग्री’ भनिने भीमराज थिङ थिए । यो त एक प्रतिनिधि घटना मात्र हो ।

यस्तै, सुरक्षाको हिसाबले जोडिएका सीसी क्यामेराका कारण कतिपय मानिसको गोप्य तस्बिर समेत सार्वजनिक हुने खतरा बढ्दै गएको प्रहरीको भनाइ छ ।

सीसी क्यामेराजस्ता प्रविधिको गलत प्रयोग गरे अपराध नियन्त्रण हुनुभन्दा अपराध निम्तिने खतरा बढ्ने काठमाडौं महानगरीय प्रहरी परिसरका प्रवक्ता (डीएसपी) होविन्द्र बोगटीको भनाइ छ ।

सीसी क्यामेरा जडान र सञ्चालनबारे व्यवस्थित गर्न गृह मन्त्रलायले भने कार्यविधि नै बनाएको छ । तर, कार्यान्वनको पाटो भने शून्य छ ।

गृह मन्त्रालयले २०७२ मा बनाएको कार्यविधिअनुसार सीसी क्यामेरालाई सार्वजनिक क्षेत्रका लागि प्रयोग हुने, व्यापारिक प्रयोजनका लागि प्रयोग हुने र निजी प्रयोजनका लागि प्रयोग गर्न पाइने गरी तीन भागमा वर्गीकरण गरिएको छ ।

सीसी क्यामेराको सञ्चालनबारे बनेको कार्यविधिमा जडान गरेको १५ दिनभित्र नजिकको प्रहरी कार्यालय वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा अनिवार्य रूपमा लिखित जानकारी दिनुपर्ने व्यवस्थासमेत छ ।

त्यस्तै, सीसी क्यामेराबाट कैद भएका दृश्य गोप्य राख्नुपर्ने, भीभीआईपी तथा भीआईपी व्यक्ति सार्वजनिक हुने गरी सीसी क्यामेरा जडान वा प्रयोग गर्न नहुने, शौचालय, चेन्जिङ रुम, होटलको बेड रुम, कुनै पनि व्यक्तिको व्यक्तिगत स्वतन्त्रतामा असर नपर्ने गरी मात्र सीसी क्यामेरा जोड्नुपर्ने र सीसी क्यामेराले खिचेका दृश्यहरु कम्तीमा ३ महिनासम्म सुरक्षित राख्नुपर्ने कार्यविधिमा उल्लेख छ ।

नेपाल प्रहरीले समाजमा हुने अपराधलाई रोकथाम गर्ने उद्देश्यले २०६१ सालबाट सीसी क्यामेरा प्रयोगमा ल्याएको हो । सुरुमा प्रहरी प्रधान कार्यालयको वरपर अपराध घट्न सक्ने भन्दै आठ वटा सीसी क्यामेरा जडान गरिएको थियो ।

त्यसलाई विस्तार गर्दै प्रहरीले २०६४ सालमा काठमाडौंका विभिन्न ठाउँमा गरी १० वटा सीसी क्यामेरा जडान गरेको थियो । त्यसपछि १८औं सार्क सम्मेलनको सुरक्षालाई मध्यनजर गर्दै महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौंका विभिन्न ठाउँमा गरी १ सय ५३ वटा सीसी क्यामेरा जडान गरेको थियो ।

यसैलाई निरन्तरता दिँदै प्रहरीले हाल देशका मुख्य मुख्य सहरलगायत सीमा प्रवेश नाकाहरु, हाइवेलगायतका महत्त्वपूर्ण स्थानमा सीसी क्यामेरा जडान गरिसकेको छ ।

हाल उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ४ सय ७४ स्थानमा प्रहरीले सीसी क्यामेरा जडान गरेको छ ।

यस्तै, प्रहरीले प्रदेश १ का विभिन्न जिल्लामा गरी ३ सय ६२ स्थान, प्रदेश २ का ४ सय ४७ स्थान, प्रदेश ३ का ४ सय ७५ स्थान, प्रदेश ४ का ४ सय ७० स्थान, प्रदेश ५ का ४ सय ५७ स्थान, कर्णाली प्रदेशका १ सय २२ स्थान, सुदूरपश्चिम प्रदेशका १ सय १९ स्थान र हाइवेमा गरी जम्मा २ हजार ९ सय १६ स्थानमा सीसी क्यामेरा जडान गरेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यसबाहेकका व्यक्तिगत र व्यापारिक सुरक्षाका लागि राखिएका सीसी क्यामेराको भने प्रहरीसँग तथ्यांक नै छैन ।

कार्यविधि पालना गर्नुपर्छः प्रहरी

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीका अुनसार काठमाडौंका पसल पसलमा व्यक्तिगत सुरक्षाका लागि राखिएका सीसी क्यामेराको तथ्यांक अनिवार्य रूपमै जानकारी हुनुपर्ने बताउँछन् ।

गृह मन्त्रालयले बनाएको सीसी क्यामेरा सञ्चालनबारे कार्यविधिमै क्यामेरा जोडिएको १५ दिनभित्र लिखित जानकारी दिनुपर्ने उल्लेख भएकोले सीसी क्यामेरा जडान गर्ने सबैले प्रहरी कार्यालय वा जिल्ला प्रशासनमा जानकारी दिनैपर्ने उनको भनाइ छ ।

‘हालसम्म कोही पनि सीसी क्यामेरा जडान गरे भनेर लिखित रुपमा जानकारी दिन आएका छैनन् । यसको तथ्यांक प्रहरीसँग छैन । उनीहरु आफैंले जानकारी गराएका छैनन् । हामी खोजीमा गएका छैनौं, बिस्तारै सीसी क्यामेराबारे अनुगमन हुन्छ,’ एसएसपी ज्ञवालीले भने ।

सीसी क्यामेरा जडानबारे प्रशासनलाई जानकारी नदिनेलाई कानुनबमोजिम कारबाही हुने उनको भनाइ छ ।

के छ कानूनी व्यवस्था ?

सीसी क्यामेरा जडान गरको १५ दिनसम्म पनि प्रशासनलाई जानकारी नदिने वा सीसी क्यामेरा जडानसम्बन्धी बनेको कार्यविधिमा तोकिएका सर्त पालना गर्नुपर्ने कार्यविधिमै उल्लेख छ ।

सीसी क्यामेरा जडान गरिएको बारेमा प्रहरीले आकस्मिक अनुगमन गर्न पाउने र कार्यविधिविपरीत सीसी क्यामेरा जडान गरिएको पाइएमा विद्युतीय कारोबार ऐन २०६३ बमोजिम कारबाही हुनेछ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *