गलत सूचना प्रकाशित भयो, सच्याउँछाैँ : आन्तरिक राजस्व विभाग

वस्तु तथा सेवा खरिद गर्दा तिर्नुपर्ने मूल्य अभिवृद्धि कर (मुअकर) रकमलाई क्रेता र विक्रेताले आधा–आधा गरेर आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने नियमले उद्योगी व्यवसायीमा तनाव बढेको छ । विभागले भने यस्तो नियम सबैलाई नभई ठेक्का प्रक्रियाद्वारा वस्तु तथा सेवा खरिद गर्नेको हकमा मात्र लागू हुने स्पष्टीकरण दिएको छ ।

आन्तरिक राजस्व विभागले जेठ १७ गते सूचना प्रकाशित गर्दै ‘वस्तु तथा सेवा खरिद गर्दा क्रेताले भुक्तानी गर्नुपर्ने मुअकरको ५० प्रतिशत रकम विक्रेताका नामबाट सम्बन्धित राजस्व शीर्षकमा जम्मा गरी बाँकी रकम मात्र विक्रेतालाई भुक्तानी गर्ने’ जनाएको थियो । यो नियमले लेखांकन गर्न कठिनाइ हुनुका साथै भ्याट दाबी गर्नसमेत कठिनाइ हुने व्यवसायीको भनाइ छ ।

विभागले भने सूचनामा केही अनावश्यक शब्द थापिएकाले व्यवसायीमा भ्रम सिर्जना भएको जनाएको छ । ‘सूचनामा केही बढी शब्द थप भएछन्,’ विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेलले भने, ‘सबै व्यवसायीका लागि यो नियम होइन । ठेक्का प्रक्रियाबाट वस्तु तथा परामर्श सेवा खरिद गर्नेका हकमा मात्र यो नियम लागू हुनेछ ।’ सूचनाले भ्याटमा दर्ता भएका २ लाख ६० हजार करदाता अन्योलमा परेपछि विभागले सूचना सच्याउने तयारी गरेको छ ।

विभागले ‘ठेक्का सम्झौतामार्फत खरिद गरिने वस्तु तथा सेवामा बुझाउने मुअकर रकम मात्र आधा–आधा गरेर दाखिला गर्नुपर्ने’ गरी सच्याउने तयारी गरेको आन्तरिक राजस्व विभागका प्रवक्ता यज्ञप्रसाद ढुंगेलले जानकारी दिए । सरकारले बजेटमार्फत सर्वसाधारण उपभोक्ताका लागि पनि भ्याट फिर्ताको विशेष कार्यक्रम ल्याएको छ । उपभोक्ताले विद्युतीय प्रणालीबाट वस्तु तथा सेवा खरिद गर्दा कुल भ्याट रकमको १० प्रतिशत सोझै खरिदकर्ताको खातामा फिर्ता हुनेछ ।

नियमावलीमा त्यस्तो छैन
यज्ञप्रसाद ढुंगेल,प्रवक्ता, आन्तरिक राजस्व विभाग 

सूचना हतारमा प्रकाशित गर्दा केही शब्द थप भएछन् । तर, खासमा नियमको आशय त्यस्तो होइन र नियम त्यस्तो छैन । नियममा ‘ठेक्काद्वारा वस्तु तथा परामर्श सेवा खरिद गर्दा मात्र मुअकर रकम आधा–आधा गरी क्रेता र विक्रेताले बुझाउनुपर्ने’ व्यवस्था छ । सूचनामा केही शब्द थप हुँदा क्रेता–विक्रेतामा भ्रम फैलियो । उनीहरू आतंकित भएको पाइयो । सूचनालाई सच्याउनेछाँै । मुअकर दाबीको सन्दर्भमा पनि विक्रेताले क्रेताबाट ६.५ प्रतिशत मात्र रकम पाउने भए पनि दाबी भने १३ प्रतिशत नै पाउँछ । तर, उसले बिलको सपोर्टिङ कागजात पेस गर्नुपर्ने हुन सक्छ । यसमा केही झन्झट हँुदैन । मुअकर समायोजन प्रक्रिया पहिलेजस्तै हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *